• Friday 9th of October 2026

भाषण गर्दा गर्दै ढलेका जिफन्टका उपाध्यक्ष कमल गौतमको मृत्यु


  • धनकुटा खबर
  • .

विद्युत कटौतीविरुद्धको आन्दोलनमा सहभागी भइरहेका **नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का उपाध्यक्ष कमल गौतमको शुक्रबार बिहान निधन भएको छ।

भैरहवाको विद्युत कार्यालय अगाडि आयोजना गरिएको विरोध सभामा सम्बोधनकै क्रममा अचानक बेहोस भएका गौतमलाई तत्कालै मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषित गरेका छन्।

६२ वर्षीय गौतमले उद्योग र श्रमिकहरूका हकहितका पक्षमा जोशपूर्ण भाषण गर्दै गर्दा अचानक ढलेका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार, उनले “श्रमिकहरू एकजुट भएर आन्दोलन गर्नुपर्छ” भन्ने आग्रह गरेपछि बोली लरबराउँदै “अतः यो कारणले…” भन्ने वाक्य बोल्दै गर्दा ढलेका हुन्। उनलाई तत्कालै अस्पताल पुर्याइए पनि १२ मिनेटभित्रै मृत्यु भएको रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष बाबुराम बोहराले जानकारी दिए।

गौतमले बुधबार सिद्धार्थ उद्योग वाणिज्य संघको बैठकमा उद्योग र श्रमिक एकताको पक्षमा बोल्दै संस्थागत रूपमा आन्दोलनमा सहभागिता जनाउने घोषणा गरेका थिए। बुटवलको लक्ष्मीनगर निवासी गौतम दुई दिनअघि मात्र काठमाडौँबाट आएर आन्दोलनको नेतृत्व लिएका थिए।

उनी श्रमिक आन्दोलनका दृढ र मुखर नेताका रूपमा चिनिन्थे। गौतमको असामयिक निधनले श्रमिक आन्दोलन र जिफन्ट संगठनभित्र ठूलो रिक्तता र शोकको वातावरण सिर्जना भएको छ।

उनका श्रीमती र दुई छोरा रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖