नेत्रावती डबजोङ गाउँपालिका–३ ले सिसाको बियर बोतल प्रयोगमा रोक लगाउँदै अबदेखि सबै होटल, चमेना गृह, किराना पसल र सामाजिक कार्यक्रममा क्यान बियर मात्र प्रयोग गर्नुपर्ने निर्देशन दिएको छ।
वडा अध्यक्ष सुरेश गुरुले जारी गरेको सूचना अनुसार गाउँभित्रका पसल र होटेलहरूबाट बिक्री वितरण हुने सिसाको बियरका खाली बोतलहरू खेतबारीमा फ्याँकिँदा किसानहरू काम गर्ने क्रममा घाइते हुने घटनाहरू बढेका छन्। फुटेका सिसाका टुक्राले हातखुट्टा काटिने घटना बढेपछि यस्तो निर्णय गरिएको जनाइएको छ।
वडाले सबै टोल विकास संस्थान, होटेल व्यवसायी र स्थानीय बासिन्दालाई सहयोग गर्न आग्रह गर्दै भनेको छ — “अबदेखि कुनै पनि ब्रतबन्ध, भोज, धार्मिक वा सामुदायिक कार्यक्रममा सिसा बियरको प्रयोग नगरी क्यान बियर मात्र वितरण गर्न पहल गर्नुहोस्।”
वडाले यो निर्णयलाई सार्वजनिक सुरक्षा र वातावरणीय सरसफाइसँग जोडिएको सचेतना अभियानको रूपमा अघि सारेको जनाएको छ। गाउँपालिकाले उक्त अभियानलाई प्रभावकारी बनाउन स्थानीय युवासंघ र टोल विकास समितिहरूको सहयोग माग गरेको छ।
