• Friday 9th of October 2026

राकाथुम माविकी लेखापाल बेपत्ता–भेटियो ६ पेज लामो नोट


  • धनकुटा खबर
  • .

काठमाडौं । रामेछापको राकाथुम मा.विकी लेखापाल आशा लामा घरबाट बेपत्ता भएकी छन् ।

खाँडादेवि गाउँपालिका –१ पाङखर की ३६ वर्षीया लामा आफनै घरबाट बेपत्ता भएकी हुन् । उनी राकाथुम माविको लेखापाल थिइन् । आइतबार बिहान करिब ४ बजेदेखि विद्यालय र घर आफन्त कसैको सम्पर्कमा नरहेको आफन्तले बताएका छन् ।

उनको खोजी गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन् । कोहि कसैले देखे चिने भेटे आफन्त, समुदाय र नजिकको प्रहरीमा जानकारी र सम्पर्क गरिदिन लामाको ससुरा वीर बहादुर लामाले आग्रह गरेका छन् ।

उनी कुनै स्क्यामरमा परेको आशंका रहेकोले मानसिक तनावका कारण कहि कतै गई सम्पर्कबाट टाढा रहेको हुनसक्ने परिवारले आशंका गरेको छ । उनको मोवाइल स्कुटर सबै घरमै रहेको छ । उनको २ छोरी समेत रहेका छन् ।

परिवारले बुहारी बेपत्ता भएपछि प्रहरी चौकी लुभुघाटमा खबर गरेका थिए । प्रहरी उनको घर पुगेर खानतलासी गर्दा ६ पेज लामो नोट लेखेर छाडेको पाइएको छ ।

उक्त चिठी प्रहरीले हेर्दा उनले आफू ७ लाख ६५ हजार भन्दा बढी रकम ठगीमा परेको उल्लेख गरेको प्रहरी चौकी लुभुघाटका प्रहरी सहायक निरीक्षक बल बहादुर कार्कीले बताए ।

उनका अनुसार लामाले लाखौं पैसा गुमाएपछि आत्महत्या गर्ने संकेत गरेकी छन् ।

असई कार्कीले भने,‘ हामीले घरमा नोट भेटायौं । त्यहाँ उहाँले आफू श्रीमानले कमाएर पठाएको लाखौं रुपैयाँ ठगीमा परेर गुमाएपछि बाच्न मन छैन । मर्छु , कि त टाढा गएर बस्छु भनेर कसरी पैसा गुमाए भनेर नालीबेली लेख्नुभएको रहेछ । ’

प्रहरीले उक्त नोट भेटेपछि स्थानीयको सहयोगमा जंगल खोला नालामा गएर खोजी कार्य जारी राखेको हालसम्म अवस्था अज्ञात रहेको कार्कीले बताए ।

उनको श्रीमान साउदी अरबमा छन् । उनी यहाँ सासुससुरासँग बस्दै आइरहेकी थिइन् । शनिबार राति ८ बजेसम्म ससुरा बीर बहादुरले बुहारीलाई देखेका थिए । सोही राति १ बजेतिर आशा उठेको देखेपछि सासुले किन उठेको भन्दा पानी खान उठेको भन्ने जवाफ दिएको बताएका थिए ।

त्यसपछि रातिको २ ३ बजेको आसपासमा घरबाट हिँडेको हुनसक्ने परिवारले आशंका गरेका छन् ।

असई कार्कीका अनुसार पत्रमा भारतीय नागरिकले अनलाइनबाट डलरमा लगानी गर्दा फाइदा हुन्छ भनेर झुक्याएर ७ लाख बढी रकम ठगी गरेपछि भारतीय सम्पर्कबिहीन भएपछि उनी आफू ठगीमा परेको थाहा पाएपछि यस्तो कदम चालेको हुन सक्ने आशंका गरिएको छ ।

प्रहरीले अहिले चिठीको आधारमा खोजी कार्य तीव्र बनाएको छ ।
-नेपाल प्रेसबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖