• Friday 9th of October 2026

७८ दिनदेखि हिरासतमा रहेका गङ्गे सुनारको मृत्यु, आजै मुद्दाको पेसी थियो


  • धनकुटा खबर
  • .

सुर्खेत — जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका ३५ वर्षीय गङ्गे सुनारको मृत्यु भएको छ। लागूऔषध कारोबार मुद्दामा थुनामा रहेका उनी शुक्रबार बिहान ओछ्यानमै बेहोस अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराका सुनारलाई बिहान हिरासतका अन्य थुनुवाले उठाउन खोज्दा नउठेपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजङ्ग बुढाथोकीका अनुसार उनलाई तुरुन्तै कर्णाली प्रदेश अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

“सुनार ओछ्यानमै बेहोस अवस्थामा भेटिए, तुरुन्तै अस्पताल पुर्‍याइए तर बचाउन सकिएन,” डीएसपी बुढाथोकीले भने।

सुनार ७८ दिनदेखि प्रहरी हिरासतमा रहेका थिए। चार दिनअघि मात्रै सरकारी वकिल कार्यालयमा मुद्दा पठाइएको र शुक्रबार नै अदालतमा पेसी तय भएको प्रहरीले जनाएको छ।

डीएसपी बुढाथोकीका अनुसार घटनापछि हिरासतको ‘सिसिटिभी फुटेज’ परीक्षण गरिएको छ। फुटेजमा सुनार बाथरुमबाट फर्किएर सुतेको र घुर्ने बानीका कारण राति साथिहरूले एकपटक उठाएको दृश्य देखिएको प्रहरीले जनाएको छ।

पोस्टमार्टमका लागि शव कर्णाली प्रदेश अस्पतालमै राखिएको छ। मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖