• Friday 27th of November 2026

जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु


  • धनकुटा खबर
  • .

दाङको गढवामा जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार मृत्यु हुनेमा गढवा गाउँपालिका–४ अजगढवाका शिवकुमार यादवकी छोरी, ५ वर्षीया जमुना यादव रहेकी छिन्।

घटना गढवा गाउँपालिका–४ रामनगरमा भएको हो। स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाले विद्यालयस्तरमा बालबालिकालाई जुकाको औषधि वितरण गर्ने क्रममा बालिकालाई औषधि खुवाइरहेकी थिइन्। तर, औषधि निल्ने क्रममा जमुनाको घाँटीमा औषधि अड्किँदा श्वासप्रश्वास रोकिएर दुई मिनेटभित्रै उनको ज्यान गएको प्रहरीले जनाएको छ।

घटनापछि उनलाई तुरुन्तै उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने प्रयास भए पनि बाटोमै मृत घोषित गरिएको थियो। बालिकाको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जुकाको औषधि वितरण कार्यक्रम देशव्यापी रूपमा सञ्चालन भइरहेको छ। स्वास्थ्यकर्मीहरूले यस्तो घटनामा बढी सावधानी अपनाउन आग्रह गर्दै बालबालिकालाई औषधि खुवाउँदा पानी पिउन लगाउने र निगरानीमा राख्नुपर्ने सुझाव दिएका छन्।

घटनापछि स्थानीयबासी र अभिभावकहरूले बालबालिकालाई औषधि खुवाउने क्रममा थप सतर्कता अपनाउन आग्रह गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖