काठमाडौँ — अस्ट्रेलियाली वैज्ञानिकहरूले पश्चिमी अस्ट्रेलियाको गोल्डफिल्ड्स क्षेत्रमा शैतानजस्तो सिङ भएको नयाँ मौरी प्रजाति पत्ता लगाएका छन्। ‘मेगाचिल लुसिफर’ नाम दिइएको यो मौरीको पोथी प्रजातिको अनुहारमा साना तर स्पष्ट सिङहरू छन्, जसकै कारण यसले वैज्ञानिकहरूको ध्यान खिचेको हो।
कर्टिन विश्वविद्यालयकी प्रमुख अनुसन्धानकर्ता डा. किट प्रेन्डरगास्टले नाम राख्ने प्रेरणा नेटफ्लिक्सको ‘लुसिफर’ कार्यक्रमबाट पाएको बताइन्। उनका अनुसार यी सिङहरू परागकण, अमृत वा गुँडका सामग्री जम्मा गर्न सहयोगी हुन सक्छन्।
यो मौरी समूहमा विगत २० वर्षपछि पत्ता लागेको नयाँ सदस्य हो। अनुसन्धानका क्रममा यो मौरी पर्थदेखि करिब ४७० किलोमिटर पूर्वमा रहेको ब्रेमर पर्वतमालामा दुर्लभ जङ्गली फूलको वरिपरि भेटिएको थियो।
‘लुसिफर’ शब्दको ल्याटिन अर्थ ‘प्रकाश ल्याउने’ हो, र वैज्ञानिकहरूले यस खोजले मौरी संरक्षण र परागसेचनमा नयाँ दृष्टिकोण प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
