सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयमा भएको कुटपिट प्रकरणपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश (खाम्सोङ) तामाङ फरार भएका छन्।
प्रधानाध्यापक अन्जना भण्डारीमाथि १९ कात्तिकमा भएको कुटपिटका आरोपमा उनले इलाका प्रहरी कार्यालय नवलपुरमा जाहेरी दर्ता गरेकी थिइन्। जाहेरीपछि प्रहरीले खोजी सुरु गरे पनि तामाङ गाउँ छोडेर फरार भएको नवलपुर प्रहरीका इन्स्पेक्टर मधु खड्काले जनाएका छन्।
प्रहरीका अनुसार जिल्लाभर खोजी गर्दा पनि तामाङ भेटिएका छैनन्। विद्यालयको बैठक मिति फरक परेको विषयमा विवाद हुँदा अध्यक्ष तामाङले बैठकमै प्रधानाध्यापक भण्डारीमाथि हातपात गरेका थिए। सो क्रममा उनको आँखातर्फ र गालामा चोट लागेको बताइएको छ।
प्रहरीले आरोपी अध्यक्षको खोजी तीव्र बनाएको जनाएको छ।
