कार्यालयको वातावरणमा सहकर्मीहरूसँग प्रेम सम्बन्ध सुरु गर्नु अब कुनै असामान्य विषय रहेन। अन्तर्राष्ट्रिय रूपमा विवाहबाहिरका गोप्य सम्बन्धका लागि चर्चित डेटिङ प्लेटफर्म ‘एश्ले म्याडिसन’ले ११ देशका १३ हजार ५८१ वयस्कमाझ गरेको सर्वेक्षणले यही तथ्य पुष्टि गरेको छ।
सर्वेक्षणका क्रममा सहभागीहरूको ठूलो हिस्साले आफ्नो कार्यस्थलमै प्रेम सम्बन्ध गाँसेको स्वीकारे। सर्वेक्षण अस्ट्रेलिया, ब्राजिल, क्यानडा, जर्मनी, भारत, इटाली, मेक्सिको, स्पेन, स्विजरल्याण्ड, बेलायत र अमेरिकामा गरिएको थियो।
सबैभन्दा धेरै कार्यस्थल रोमान्स मेक्सिकोमा देखियो, जहाँ ४३ प्रतिशत सहभागीले सहकर्मीमै सम्बन्ध रहेको बताए। मेक्सिकोलाई पछ्याउँदै भारत दोस्रो स्थानमा रह्यो, जहाँ ४० प्रतिशत वयस्कले कार्यालयमै प्रेम सुरु गरेको बताए। अमेरिका, बेलायत र क्यानडामा भने यो अनुपात ३० प्रतिशत मा सीमित छ।
सर्वेक्षणले देखाएको अर्को महत्त्वपूर्ण पक्ष—पुरुषहरू महिलाभन्दा धेरै सक्रिय देखिए।
५१ प्रतिशत पुरुषले सहकर्मीमै प्रेम सम्बन्ध बनाएको स्वीकार गर्दा महिलामा यो संख्या ३६ प्रतिशत मात्र छ।
महिलाहरू करियरमा पर्ने सम्भावित असरबारे पुरुषभन्दा बढी सतर्क देखिए। २९ प्रतिशत महिलाले “पेशागत नोक्सानीको जोखिम” का कारण सम्बन्ध राख्न नचाहेको बताए, पुरुषमा यो संख्या २७ प्रतिशत छ।
१८–२४ वर्ष उमेर समूह कार्यस्थल रोम्यान्सबारे सबैभन्दा धेरै चिन्तित देखियो। यस समूहका ३४ प्रतिशत युवा वयस्कले यस्तो सम्बन्धले करियर बिग्रन सक्ने खतरा औँल्याएका छन्।
सर्भेक्षणले कार्यस्थलमा प्रेम सम्बन्ध सामाजिक रूपमा कति सामान्य बन्दै गएको छ भन्ने मात्र होइन, पेशागत जोखिम र लिङ्ग–आधारित धारणा कति फरक छन् भन्ने पनि स्पष्ट देखाएको छ।
