काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गर्दै आएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
बारा, कलैया–२० घर भई हाल काठमाडौँ–१५ डल्लु बस्ने २३ वर्षीय मोहम्मद सेफलाई बुधबार साँझ पक्राउ गरिएको हो।
प्रहरीका अनुसार क्रिप्टोकरेन्सी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा निगरानीअघि बढाएर सेफलाई नियन्त्रणमा लिइएको हो। उनको साथबाट विभिन्न कम्पनीका दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा सेफले नेपाली रुपैयाँ १९ करोड ८१ लाख ४९ हजार ५८१ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको खुलेको प्रहरीले जानकारी दिएको छ। उनलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको छ।
