• Thursday 8th of October 2026

पूर्व सांसद गंगा थारु स्थानीय महिलाबाट कुटिइन्


  • धनकुटा खबर
  • .

दाङको राप्ती गाउँपालिका–७, छोट्की सिसहनियाँमा बाटोसम्बन्धी विवादले उग्र रुप लिँदा पूर्व सांसद गंगा थारु स्थानीय महिलाबाट कुटपिटमा परेकी छन्। घटना शुक्रबार बेलुका भएको हो।

स्थानीय स्रोतका अनुसार विवाद समाधानका लागि गरिएको छलफलका क्रममा गंगा थारु एक महिलासँग वादविवादमा उत्रेपछि अन्य महिलाहरूले उनीमाथि लछारपछार गर्दै कुटपिट गरेका थिए। थारुले जानकी चौधरी, गायत्री चौधरी, चन्द्रमती चौधरी, सरस्वती चौधरी, अञ्जु चौधरी, छेदु चौधरी र राजकुमार चौधरीले आफूलाई समातेर कुटपिट गरेको आरोप लगाएकी छन्।

पूर्व सांसद थारुका अनुसार कुटपिटका क्रममा उनको घुँडामा चोट लागेको छ भने लगाएको मंगलसूत्र लुटिएको दाबी गरेकी छन्। उनले घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीको माग गर्दै मुद्दा दर्ता गर्ने चेतावनी पनि दिएकी छन्।

गंगाले भनिन्, “माओवादी कार्यकर्ताले कुटेका हुन्, मैले चिनेकी छु सबैलाई। बाटोको समस्या समाधान गर्न गएकी थिएँ, तर उल्टै ममाथि हातपात भयो।” प्रहरीलाई घट्नाबारे जानकारी गराइसकिएको र इलाका प्रहरी कार्यालय सिसहनियाँले भोलि छलफलका लागि दुवै पक्षलाई बोलाएको उनले बताइन्।

यता, गंगालाई लछारपछार गरेको आरोपमा रहेका महिलाहरूले भने गंगाले पहिले नै गायत्री चौधरीलाई थप्पड हानेपछि आफूहरूले प्रतिक्रिया स्वरूप हातपात गरेको दाबी गरेका छन्। उनीहरूको भनाइमा जग्गाको सिमाना र बाटो विवाद लामो समयदेखि दुवै पक्षबीच विवादित बनेको थियो।

गंगा थारु अतीतमा पटक–पटक राजनीतिक धरातल बदल्दै थरुहट पार्टी, नेकपा एमाले हुँदै अहिले राजावादी आन्दोलनमा सक्रिय रहेकी हुन्। उनीसँग सम्बन्धित यस घटनाले स्थानीय क्षेत्रमा राजनीतिक र सामाजिक बहस पनि बढाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖