• Thursday 8th of October 2026

यी महिलाले गरिन् आफ्नै छोरा सहित चार बालबालिकाको हत्या


  • धनकुटा खबर
  • .

भारतको हरियाणामा एक महिलाले आफ्नै छोरासहित चार बालबालिकाको हत्या गरेको डर लाग्दो घटना सार्वजनिक भएको छ। डिसेम्बर ३ मा पक्राउ परेकी पूनम नामकी महिलाले ६ वर्षीया भाञ्जी विद्धीको हत्या गरेको खुलासासँगै प्रहरी अनुसन्धानले उनले विगतमा पनि तीन बालबालिकाको हत्या गरिसकेको तथ्य बाहिर ल्यायो।

प्रारम्भिक सोधपुछमा पूनमले आफू “भन्दा राम्री देखिने” बालिकाहरूलाई सहन नसक्ने भएकै कारण हत्या गरेको बताएकी छन्। उनले आफ्ना लक्ष्य सधैं “सुन्दरी देखिने बालिका” हुने गरेको स्वीकार गरिन्, र शंका नजाओस् भन्ने उद्देश्यमा आफैँले आफ्नै छोरालाई समेत डुबाएर मारिदिएको खुलासा गरेकी छन्।

विद्धी आफ्ना बाबुआमा र हजुरआमासँग सोनिपतबाट पानीपतमा आयोजित एक विवाह समारोहका लागि आइएकी थिइन्। डिसेम्बर १ मा उनी घरबाट हराएकी थिइन्। करिब एक घण्टापछि हजुरआमाले भण्डारण कक्षको ढोका बाहिरबाट लगाइएको भेटिन्। ढोका खोल्दा विद्धी भित्र अचेत अवस्थामा पाइएकी थिइन्, अस्पताल पु¥याउँदा चिकित्सकहरूले उनलाई मृत घोषणा गरे। घटनापछि विद्धीका बाबुले प्रहरीमा उजुरी दर्ता गरे, जसको आधारमा पानीपत प्रहरी प्रमुख भूपेन्द्र सिंहको नेतृत्वमा सुरु भएको अनुसन्धान पूनमसम्म पु¥यायो।

अनुसन्धानमा २०२३ मा पूनमले आफ्नी देवरानीकी छोरीको हत्या गरेको र सोही वर्ष उनले आफ्नै छोरालाई पनि योजनाबद्ध रूपमा मारेको पुष्टि भयो। यस वर्ष अगस्टमा एक अर्को बालिकाको हत्या सिरोह गाउँमा गरिएको पनि खुलेको छ। यी सबै घटनामा पूनमको उही स्वीकारोक्ति दोहोरियो—“उनीहरू मभन्दा राम्री देखिन थालेका थिए।” प्रहरीले यो घटनालाई ईर्ष्या र गम्भीर मानसिक स्वास्थ्य समस्यासँग जोडिएको “श्रृंखलाबद्ध हत्या” को रूपमा हेरेको छ।

यस घटनाले हरियाणा मात्रै होइन, सम्पूर्ण भारतमा मनोवैज्ञानिक अवस्था, महिला हिंसा, बालबालिका सुरक्षासम्बन्धी बहसलाई चर्काएको छ। प्रहरीले पूनमलाई हिरासतमा लिएर थप अनुसन्धान जारी राखेको बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖