• Thursday 8th of October 2026

चोरले निलेको २७ लाख पर्ने हिराजडित लकेट ‘प्राकृतिक’ विधिबाट निकालियो


  • धनकुटा खबर
  • .

वेलिङ्टन । चोरी गर्ने प्रयासमा निलेर पेटमा लुकाएको हिरा जडित लकेट न्युजिल्यान्डका एक पुरुषबाट बरामद गरिएको प्रहरीले जनाएको छ । न्युजिल्यान्ड प्रहरीले बीबीसीलाई बताएअनुसार, करिब २७ लाख नेपाली रुपैयाँ मूल्यको सो फबर्गे एग लकेट ‘प्राकृतिक’ विधिबाट बरामद भएको र यसका लागि ‘चिकित्सा हस्तक्षेपको आवश्यकता परेन’ ।

यो घटना अकल्यान्डको मध्यभागमा रहेको पार्टरिज ज्वेलर्समा भएको करिब एक हप्तापछि प्रकाशमा आएको हो । ३२ वर्षीय ती पुरुषलाई लकेट निलेको केही मिनेटपछि नै प्रहरीले पक्राउ गरेको थियो ।

ज्वेलर्सको वेबसाइटका अनुसार, निलेको सो लकेटमा ६० वटा सेतो हिरा र १५ वटा नीलो नीलमणि जडिएका छन् र खोल्दा भित्र १८ क्यारेट सुनको सानो अक्टोपस देखिन्छ । ती पुरुषमाथि चोरीको आरोप दर्ता गरिएको छ ।

प्रहरीले यसअघि नै जनाएअनुसार, लकेट निलेको घटनापछि उनको स्वास्थ्य परीक्षण गरिएको थियो र निरन्तर निगरानीमा राखिएको थियो । यो लकेटलाई ‘अक्टोपसी एग’ नाम दिइएको छ, जुन १९८३ को जेम्स बन्ड फिल्मबाट प्रेरित छ । त्यो फिल्ममा पनि फबर्गे अण्डा चोरीको कथावस्तु छ । विश्वप्रसिद्ध रुसी ज्वेलरी कम्पनी फबर्गे विशेषगरी रत्न र बहुमूल्य धातुबाट बनाइएका अण्डाका लागि प्रसिद्ध छ ।

चोरीको आरोप लागेका ती संदिग्धलाई डिसेम्बर ८ मा अदालतमा पुनः उपस्थित गराइनेछ । अभियोग पत्रअनुसार, ती उनीमाथि चोरीको अन्य आरोप पनि रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖