काठमाडौं । भारतीय पर्यटकमाथि धादिङमा कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
भिडियोमा देखिएअनुसार भारतीय पर्यटक एक रेस्टुरेन्टमा चिया पिउन गएर आफैँ भिडियो बनाइरहेको देखिन्छ ।
सोहीक्रममा सामान्य विवादपछि उनीमाथि एक युवकले अभद्र व्यवहार गरेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी सुमित खड्काले विवाद सामान्य भएको बताए ।
“भारतीय पर्यटकमाथि कुटपिट नै भएको होइन । धादिङको गल्छीमा ती भारतीय नागरिकले भिडियो बनाउँदा स्थानीय एक महिला पनि देखिने गरेर बनाएका थिए,” उनले भने, “त्यही विषयमा ती महिलाका श्रीमान्ले अभद्र व्यवहार गरेका हुन् ।”
एसपी खड्काकाअनुसार तीन दिनअघि भएको उक्त घटनालगत्तै प्रहरीले अभद्र व्यवहार गर्ने स्थानीय र ती भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय गजुरीमा ल्याएर मिलापत्र समेत गराएको छ ।
मिलापत्र भइसकेपछि पनि भारतीय नागरिकले आफैँले बनाएको भिडियो हाल्दा बढी हल्ला भएको उनको भनाइ छ । भारतीय नागरिक सडकमार्ग हुँदै घुम्नका लागि काठमाडौं आउँदै थिए ।
