यूएई । शारजाहमा नेपाली महिलाको कोखबाट जन्मिएकी बालिका यतिबेला राज्यविहीनको अवस्थामा छिन् ।
गुल्मीकी गीता घर्ती मगरको कोखबाट जन्मिएकी रोजा (नाम परिवर्तन) बल्ल चार वर्षकी भइन् । एक महिना अघि हृदयघातका कारण गीताको मृत्यु भएपछि उनकी छोरी बेसहारा भएकीमात्र होइन, उनी कुन देशको नागरिक भन्ने गम्भीर प्रश्नसमेत खडा भएको छ ।
चार वर्षअघि गीताले रोजालाई जन्म दिँदा नै रोजाका पिता गायब भइसकेका थिए । जसले गर्दा सन्तानलाई ‘वैध’ बनाउन आवश्यक कागजात जन्मदर्ता, नागरिक पहिचान, पासपोर्ट आदि सबै अड्किए । रोजाले पिताको संरक्षण त पाइनन् नै, विदेशी भूमिमा जसोतसो गरेर हुर्काइरहेकी आमा पनि गुमाइन् ।
अबुधाबीस्थित नेपाली दूतावासले समेत रोजालाई नेपाल पठाउन बेवास्ता गरेको नेपाली समुदायका समाजसेवी बताउँछन् ।
स्थानीय सरकार र नेपाली समाजसेवी रोमा अधिकारी यतिवेला रोजा र गीताको डीएनए परीक्षण गराएर सोही आधारमा रोजालाई नेपाल पठाउने कानुनी बाटो खोल्ने प्रयासमा छन् ।
विदेशमा रहेका नेपालीहरूको पहिचान, सुरक्षा र अधिकारको जिम्मा दूतावासमा हुन्छ भन्ने बुझेर लाखौँ नेपाली विदेश आउँछन् । यद्यपि गीताले चार वर्षसम्म भोगेको सास्ती र उनको मृत्युपछि चार वर्षीय बालिकाको भविष्यमाथि उठेको गम्भीर प्रश्नबारे नेपाली दूतावास बेखबरजस्तै बनेको शारजाहस्थित नेपाली समुदाय बताउँछन् ।
गीताले आफ्नी छोरीको भविष्यमाथि उठ्ने प्रश्नलाई बुझेरै तीन पटकसम्म दूतावास पुगेर आफ्नो पीडा सुनाएको समाजसेवी अधिकारी बताउँछिन् । १६० किलोमिटरको दुरीमा रहेको दूतावासमा बारम्बार धाउन सम्भव नभएको र दूतावासले तत्कालीन अवस्थामा स्थानीय कानुनसँग बाझ्ने वा स्थानीय कानुन अनुसार सहज नभएको बताउँदै पन्छिने काम गरेको उनको भनाइ छ ।
एक नेपाली महिलाको कोखबाट विदेशी भूमिमा बालिकाको जन्म भइसकेको अवस्थामा दूतावासले आमा र बालिकाको रेकर्ड राखेर आवश्यक सहजीकरण गरिदिएको भए अहिले रोजा राज्यविहीन हुनुपर्ने अवस्था आउँदैनथ्यो भनेर पनि कतिपयले तर्क गरेका छन् ।
झन्डै ९ लाखको हाराहारीमा नेपाली रहेको अनुमान गरिएको यूएईमा विवाहदर्ता नहुँदा पासपोर्ट साथै जन्मदर्ता नबनेका अन्य घटना पनि छन्, जसलाई स्थानीय कानुनको जटिलताका कारण समाधान गर्न नसकिएको दूतावासका एक अधिकारीले बताए । यद्यपि हाल आमासँगको डीएनए परीक्षण मेल भएमा सोही आधारमा बच्चालाई जन्मको प्रमाणपत्र दिएर नेपाल पठाउन दूतावासबाट आउटपास बनाउन मिल्ने ती अधिकारीले बताए ।
आमाको नामबाट पनि नागरिकता दिने कानुन निर्माण भइसकेको अवस्थामा विदेशी भूमिमा एक नेपाली महिलाले जन्माएको बच्चा राज्यविहीन भएर बस्नु हाम्रो नियम–कानुनमा रहेको कमजोरीकै ज्वलन्त उदाहरण भएको अधिकारकर्मीहरूको भनाइ छ ।
