• Thursday 8th of October 2026

विबाहपछि पत्नी पुरुष बनेपछि…


  • धनकुटा खबर
  • .

आयरल्यान्डमा एउटा अनौठो विवाह विवादको अन्त्य अदालतले विवाहलाई नै खारेज गरेर गरेको छ। एक पुरुषले आफ्नो पत्नी विवाहपछि ‘पुरुष’मा रूपान्तरण (transition) भएको थाहा पाएपछि अदालतमा विवाह खारेज गर्न माग गरेका थिए। उनका अनुसार विवाह गर्ने बेला पत्नीले आफ्नो लिङ्ग परिवर्तन गर्ने इच्छा वा योजना लुकाएकी थिइन्, र यदि आफूलाई पूर्व–सूचना दिएको भए विवाह नै नगर्ने थिए।

दुवै पक्षको नाम कानुनी कारणले सार्वजनिक गरिएको छैन। इष्टर्न सर्किट कोर्ट, लाउथमा भएको पारिवारिक कानुन सम्बन्धी बन्द कक्ष (private hearing) मा अदालतलाई जानकारी दिइएको थियो कि विवाहपछि पत्नीले he/him सर्वनाम प्रयोग गर्न थालेका छन् र उनको पासपोर्ट तथा ड्राइभिङ लाइसेन्समा पनि आधिकारिक रूपमा ‘पुरुष’ भनेर दर्ता भइसकेको छ। अदालतमा प्रस्तुत सूचनाअनुसार विवाह कहिल्यै ‘consummate’ पनि भएको थिएन।

पुरुष पक्षले अदालतलाई यस्ता प्रकृतिको अन्य केसहरूको उदाहरण पनि प्रस्तुत गरे। तर न्यायाधीश टेरन्स ओ’सुलीभनले यौन अभिरुचि वा लैङ्गिक पहिचान मात्रले विवाह खारेज गर्न पर्याप्त नहुने बताए। तर हालसालै अद्यावधिक भएको आयरिश कानुनले लिङ्ग पहिचानसम्बन्धी जानकारी लुकाएर विवाह गर्दा सहमति स्वतः अमान्य मानिने प्रावधान समेटेको भन्दै उनले उल्लेख गरे— “विवाहको समयमा यो महत्वपूर्ण जानकारी खुलाइएको थिएन, र सहमति पनि त्यसैले मान्य हुँदैन। विवाह शुरूदेखि नै शून्य र अवैध थियो।”

अदालतले दुवै पक्षलाई एक–अर्काका कानुनी खर्च तिर्न नपर्ने गरी फैसला सुनाएको छ।

यसअघि पनि यस्तै एक मुद्दामा, आफ्नो पति ‘महिला’मा रूपान्तरण भएपछि एक महिलालाई अदालतले १,६०,००० पाउन्ड लागतको आधा रकम—८०,००० पाउन्ड—बहन गर्न आदेश दिएको थियो। उक्त केसमा न्यायाधीशले लैङ्गिक रूपान्तरणलाई “आवश्यक र उचित चिकित्सा प्रक्रिया” ठहर गर्दै खर्च दुवैले बाँड्नुपर्ने बताएका थिए। त्यो जोडी २००२ मा विवाह भएका थिए र २०२२ मा पतिले रूपान्तरण सुरु गरेपछि पत्नीले दुई महिनामै सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेकी थिइन्।

आयरल्यान्डमा बढ्दै गएका यस्ता मुद्दाले विवाह, सहमति, लैङ्गिक पहिचान र कानुनी पारदर्शितासम्बन्धी बहसलाई झनै व्यापक बनाइरहेको कानुनविद्हरू बताउँछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖