• Thursday 8th of October 2026

गाईलाई ‘चिकेन म:म’ खुवाउने युवक कुटिए, भिडियो भाइरल


  • धनकुटा खबर
  • .

भारत, हरियाणाका २८ वर्षीय ऋतिक चन्दनाले गाईलाई ‘चिकेन म:म’ खुवाएको भिडियो बनाएर अपलोड गरेका थिए। डिसेम्बर २ मा गुरुग्रामको सेक्टर ५६ को हुडा मार्केटमा बनाएको भिडियो तुरुन्तै भाइरल भयो।

त्यसपछि हिन्दु संगठन र गौ रक्षकहरू आक्रोशित भए। अनि युवकलाई कुटपिट गरेर प्रहरीलाई बुझाए। प्रहरीले सोमबार मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो। तर ऋतिक जमानतमा रिहा भए।

ऋतिकले युट्युबमा चर्चा कमाउनका लागि सो कदम चालेको पाइएको छ। फ्यानले दिएको ‘टास्क’ पुरा गर्न उनले गाइलाई म:म खुवाउने काम गरेको जनाइएको छ। घटनापछि हात जोड्दै माफी समेत मागेका छन्। उनले भनेका फ्यानले दिएको चुनौती पूरा गर्न यस्तो गरेको भन्दै अब आउँदा दिनमा यस्तो नगर्ने कुरा दोहोर्‍याए।

उनले भनेका छन्, ‘मैले गाईलाई ‘चिकेन म:म’ खुवाएँ। सामाजिक सञ्जालमा मानिसहरूले मलाई त्यसो गर्न भने। मैले पैसाको लोभमा यो भिडियो बनाएको हुँ।’ माफी माग्दा पनि स्थानीय र हिन्दु संगठनहरूको आक्रोश शान्त भएको छैन। उनीहरूले कडा सजायको माग गरेका छन्, ताकि यस्ता कार्य दोहोरिन नपरोस्।

गुरुग्राम प्रहरीका जनसम्पर्क अधिकृत सन्दीपले भने, ‘हामीलाई गुनासो प्राप्त भयो कि एक व्यक्तिले सामाजिक सञ्जालमा एउटा भिडियो अपलोड गरेको थियो जसमा उसले गाईलाई मांसाहारी म:म खुवाउँदै थियो। गुरुग्राम प्रहरीले यस विषयमा एफआईआर दर्ता गरेको थियो। प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो। आरोपीको पहिचान २८ वर्षीय ऋतिकको रूपमा गरिएको छ। उनी गुरुग्रामको नयाँ कोलोनीका निवासी हुन्।’

विश्व हिन्दु परिषद्का चमन खतानाले भने, ‘हिन्दु धर्ममा गाईलाई पवित्र मानिन्छ। यसो गरेर युवकले धार्मिक भावनामा चोट पुर्‍याएका छन्। प्रहरीले आरोपीमाथि कडा कारबाही गर्नुपर्छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖