• Thursday 8th of October 2026

अरुको लागि भिक माग्दा मलाई नै भिकारी बनाइयो :भोजराज थापा


  • धनकुटा खबर
  • .

सामाजिक अभियन्ता तथा सञ्चारकर्मी भोजराज थापाले उपचार खर्चका लागि पीडितहरूको सहयोग जुटाउँदै हिँड्दा अब आफू नै ‘भिकारी’ कहलिनुपर्ने परिस्थिती बनेको भन्दै गहिरो पीडा सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् भावुक नोट लेख्दै अब आफू अरूका लागि मागेर हिँड्न नसक्ने अवस्थामा पुगेको बताए।

थापाले भनेका छन्, “आजभोलि मृगौला र बोनम्यारो क्यान्सरका बिरामीका अत्यधिक फोन आउँछन्। परिवारमा एक सदस्य बिरामी पर्दा वर्षौँ कमाएको सम्पत्ति किमोथेरापीमै सकिन्छ। बोनम्यारो ट्रान्सप्लान्ट गर्न करोडभन्दा बढी खर्च लाग्छ, त्यो पनि सकिन्छ भन्ने ग्यारेन्टी छैन।”

उनका अनुसार नेपालमा बोनम्यारो उपचार उपलब्ध छ भनिए पनि अधिकांश बिरामीहरू उपचारअघि नै लाखौँ खर्च गरी भारत जान बाध्य छन्। “नेपालमै ३०–४० लाख सकियो, अब यता अझै कति लाग्ने हो?” भन्ने गुनासो ७० प्रतिशतभन्दा धेरै बिरामी र परिवारबाट आफूले सुनेको थापाको भनाइ छ। कतिपयले सम्पत्ति बेचेर उपचार गराएपछि अन्तिम विकल्पको रूपमा “अब त बेच्ने भनेकै मृगौला हो” भन्दै रोएको उनले उल्लेख गरेका छन्।

थापाले भनेका छन्, “जबसम्म शरीरमा तागत छ, तबसम्म हामी बोल्दैनौँ। तर आज मृत्युको मुखमा पुगेका राम–श्यामहरू पनि हिजो बलिया थिए। भोलि तपाईंको घरमा पनि यस्तै समस्या नआउला भन्न सकिन्न।”

“हामीलाई चिल्लो बाटो र रेल होइन, जीवनरक्षक अस्पताल चाहिन्छ”

थापाले राजनीतिक नेतृत्वलाई सम्बोधन गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। उनले भने,
“बरु हामीलाई चिल्लो बाटो चाहिँदैन, रेल चाहिँदैन। कृपया अत्याधुनिक उपकरणसहित जनताको पहुँचमा हुने एउटा ठूलो अस्पताल बनाइदिनुहोस्।”

उनका अनुसार सामान्य आय भएका परिवारलाई जीवनरक्षक उपचार अत्यन्तै टाढाको सपना बनेको छ, जसले धेरैलाई समयमै उपचार नपाएर ज्यान गुमाउन बाध्य बनाइरहेको छ।

“अब म मागेर हिँड्दिन, राज्यले नै जिम्मा लिनुपर्छ”

लामो समयदेखि सामाजिक अभियन्ताको भूमिकामा रही क्यान्सर, मृगौला, बोनम्यारो तथा अन्य गम्भीर रोगका विरामीका लागि सहयोग जुटाइरहेका थापा भन्छन्,
“म एउटा मान्छे, आखिर कति दिन क–कसका लागि हात फैलाएर हिँड्ने? अरूका लागि भिक माग्दा मलाई नै भिकारी भन्न थाल्नुभयो। अब म थाकेँ, सक्दिन। अब कसैका लागि मागेर हिँड्दिन।”

उनले अन्त्यमा भनेका छन्,
“अब राज्यले नै देशभरका गम्भीर बिरामीहरूको जिम्मा लिनुपर्छ। स्वास्थ्य सेवामा राज्यको दायित्व अब टार्न मिल्दैन।”

थापाको भावुक अभिव्यक्तिले सामाजिक सञ्जालमा हजारौँ मानिसको ध्यान खिचिरहेकाले स्वास्थ्य पूर्वाधार सुधारको माग पुनः बलियो रूपमा उठेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖