• Thursday 8th of October 2026

जिप दुर्घटनाका मृतकमध्ये दुई जनाको सनाखत


  • धनकुटा खबर
  • .

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये दुई जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार मृतक निस्दी गाउँपालिका-७ हुवासकी ३६ वर्षीया हेमकुमारी सारु, सोही गाउँपालिका-४ ठोक्सिङवासकी ४५ वर्षीया ओम कुमारी खाँम्चाको सनाखत भएको हो । अर्को एक जना महिलाको शव भने पहिचान हुन नसकेको सूचना अधिकारी चौधरीले जानकारी दिए।

उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइते हुनेमा निस्दी-४ लामेदमारका नौ वर्षीय नेवराज खाम्चा, सोही ठाउँका पाँच वर्षीय सालिन खाम्चा, ७३ वर्षीय नरबहादुर सुनारी, ७२ वर्षीया भूमिसरा सुनारी ४१ वर्षीय सुन्दर सुनार, निजको छोरा १० वर्षीय लविस सुनार, छोरी पाँच वर्षीय प्रिन्सा सुनार र २८ वर्षीया मीनाकुमारी सुनारी रहेका छन् । घाइतेमध्ये चार जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो । चिउरीवासमा उकालोमा यात्रु ओराल्दै गर्दा रोकिराखेको फोर्स जिप आफैँ व्याक भएर दुर्घटना भएको जनाइएको छ । जिप सडकबाट एक हजार २०० मिटर तर खसेको थियो । सामान्य घाइते अवस्थामा रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖