• Thursday 8th of October 2026

गोरखा डिपार्टमेन्ट स्टोरको गाडी तथा सम्पत्ति लिलाम गर्न हिमालयन बैंकले निकाल्यो ३५ दिने सूचना


  • धनकुटा खबर
  • .

इटहरीसहित पूर्वी नेपालका पाँच शहर धरान, दमक, पथरी र विराटचोकमा संचालित गोरखा डिपार्टमेन्ट स्टोरको चलअचल सम्पत्ति लिलामी प्रक्रियामा जाने भएको छ।

हिमालयन बैंक लिमिटेडको केन्द्रीय कार्यालय, काठमाडौंले साँवा, ब्याज तथा जरिवाना रकम भुक्तानीका लागि ३५ दिने अन्तिम सूचना जारी गरेको हो।

बैंकले धरानबाट प्रकाशित हुने ब्लाष्ट टाइम्स दैनिक पत्रिकामार्फत सूचना प्रकाशित गर्दै पटक पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि ऋणी पक्षले बेवास्ता गरेपछि लिलामी प्रक्रिया अघि बढाइएको जनाएको छ। सूचनाअनुसार मंसिर २८ गते प्रकाशित सूचना बमोजिम ३५ दिन अर्थात् २०८२ माघ ३ गतेभित्र दायित्व भुक्तानी नभए ऋणीलाई कालोसूचीमा राखी ऋण असुली प्रक्रिया अघि बढाइने जनाइएकाे छ ।

बैंकले इटहरी, बक्लौरी, कानेपोखरी, केरौन, खोटाङको चिउरीडाँडा, हाँसपोसा, एकम्बा लगायत विभिन्न स्थानमा रहेका ४२ कित्ता जग्गा लिलामीमा राख्ने प्रक्रिया सुरु गरेको छ। साथै सञ्चालक बलराम आचार्यले प्रयोग गर्दै आएका टोयोटा ल्याण्डक्रुजर भी एट, टाटा इन्ट्रा र किया सेल्टोस गाडी समेत लिलामी सूचीमा समावेश गरिएको छ।

लामो समयदेखि व्यापारिक रूपमा थलिएको गोरखा डिपार्टमेन्ट स्टोरले बैंकको ब्याजसमेत नियमित रूपमा तिर्न नसकेपछि लिलामी प्रक्रियामा पुगेको बैंक स्रोतले जनाएको छ। जग्गा कारोबारमा आएको मन्दीका कारण व्यवसाय प्रभावित बनेपछि कम्पनी थप आर्थिक दबाबमा परेको बताइएको छ।

पूर्वी नेपालमा डिपार्टमेन्ट स्टोर अवधारणालाई स्थापित गर्दै सपिङ संस्कृतिको सुरुवात गरेका बलराम आचार्य कुनै समय यस क्षेत्रका प्रख्यात व्यापारी मानिन्थे। तर पछिल्लो समय आर्थिक संकटका कारण आफ्नै सम्पत्ति जोगाउनसमेत उनी कठिन परिस्थितिमा परेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖