• Thursday 8th of October 2026

अमेरिकामा दुई नेपाली पक्राउ


  • धनकुटा खबर
  • .

अमेरिकामा रहेका दुई नेपाली युवक छुट्टाछुट्टै गम्भीर आपराधिक घटनामा पक्राउ परेका छन्। एक जनालाई वृद्ध दम्पतीलाई ठगी गरेको आरोप लागेको छ भने अर्का एक जना अन्तर्राष्ट्रिय बाल यौन शोषण सञ्जालमा संलग्न रहेको अभियोगमा कानुनी कारबाहीको दायरामा परेका छन्।

अमेरिकाको टेनेसी राज्यस्थित पुटनाम काउन्टीमा ७० वर्षीय वृद्ध दम्पतीलाई ठगी गरेको आरोपमा ३० वर्षीय नेपाली युवक तुल्सी तिम्सिना पक्राउ परेका हुन्। नासभिलमा बस्दै आएका तिम्सिना ग्रिन कार्ड होल्डर रहेको प्रहरीले जनाएको छ। यो ठगी काण्ड गत सेप्टेम्बर १९ बाट सुरु भएको बताइएको छ। पीडित दम्पतीको कम्प्युटरमा माइक्रोसफ्ट कम्पनीको जस्तै देखिने ‘पप–अप अलर्ट’ आएपछि उनीहरूले देखाइएको नम्बरमा फोन गरेका थिए। फोन गर्दा बैंक खाता ह्याक भएको र बाल अश्लील सामग्रीसम्बन्धी अनुसन्धान भइरहेको भन्दै खाता फ्रिज हुनबाट जोगिन तुरुन्त पैसा झिक्न निर्देशन दिइएको थियो।

ठगहरूको जालोमा परेका ती वृद्ध दम्पतीले अक्टोबरदेखि नोभेम्बर ५ सम्म पटक–पटक गरी कुल २ लाख ६८ हजार २२९ अमेरिकी डलर झिकेका थिए। उनीहरूलाई सुनका सिक्का किन्न लगाइयो र ती सिक्का लिन घरमै व्यक्ति पठाइएको थियो। सुन लिन आएका व्यक्ति र उनको गाडीको फोटो पीडितका श्रीमानले खिचेका थिए। सोही फोटोको आधारमा प्रहरीले अनुसन्धान गर्दै तिम्सिनालाई पहिचान गरी पक्राउ गरेको हो। उनीमाथि ज्येष्ठ नागरिकको आर्थिक शोषण गरेको अभियोग लगाइएको छ र अदालतले २ लाख डलर धरौटी तोकेको छ।

यस्तै अर्को घटनामा, अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका २० वर्षीय प्रसन नेपाल उर्फ ‘ट्रिप्पी’ अन्तर्राष्ट्रिय बाल यौन शोषण सञ्जाल ‘७६४’ मा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। उनीसँगै ग्रीसबाट २१ वर्षीय अमेरिकी नागरिक लियोनिडास वारागियानिस उर्फ ‘वार’ पनि पक्राउ परेका छन्। अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईका अनुसार ‘७६४’ एउटा हिंसात्मक अतिवादी अनलाइन सञ्जाल हो, जसले इन्क्रिप्टेड एपमार्फत नाबालिगहरूलाई ब्ल्याकमेल गर्ने, मानसिक यातना दिने र अमानवीय यौन क्रियाकलापमा बाध्य पार्ने गरेको पाइएको छ।

एफबीआईका अनुसार प्रसन नेपालले ‘७६४ इन्फर्नो’ नामक उपसमूहको नेतृत्व गर्दै बालबालिकामाथि यौन शोषण गर्ने, त्यस्ता भिडियो उत्पादन तथा वितरण गर्ने गरेको आरोप छ। सन् २०२० देखि २०२५ सम्म सक्रिय रहेको यो सञ्जालले १३ वर्षसम्मका बालबालिकालाई निशाना बनाएको अनुसन्धानबाट खुलेको छ। अभियोग प्रमाणित भएमा उनलाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने अमेरिकी अधिकारीहरूले बताएका छन्।

यी दुई घटनाले अमेरिकामा रहेका नेपाली समुदायलाई गम्भीर रूपमा झक्झक्याएको छ भने कानुन उल्लङ्घनमा संलग्न जो कोही पनि कडा कारबाहीबाट नबच्ने सन्देश अमेरिकी अधिकारीहरूले दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖