काठमाडौँ । ललितपुर स्थित उच्च अदालत पाटनमा बलात्कार पीडित युवतीले आत्महत्या प्रयास गरेकी छन् ।
बिहीबार पीडित ३० वर्षीया युवतीले आत्महत्या प्रयास गरेपछि प्रहरीले उनलाई उद्धार गरेर पाटन अस्पतालमा उपचारको लागि पठाएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको भन्दै पीडितले किटनाशक औषधी सेवन गरेकी हुन् ।
उच्च अदालतका कर्मचारीले अदालत कम्पाउण्डमा उनी छटपटाएको देखेर प्रहरीलाई खबर गरेपछि प्रहरीले पीडितलाई पाटन अस्पतालमा लगेर भर्ना गरेका छन् ।
काठमाडौँ जिल्ला अदालतले प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश गरेपछि पीडित युवतीले उच्चमा पुनरावेदन गरेकी थिइन् ।
आज उच्च अदालतले पनि प्रतिवादीलाई धरौटीमा छाड्ने काठमाडौँ जिल्ला अदालतको निर्णय सदर गरेपछि पीडितले आत्महत्या प्रयास गरेकी हुन् । उनको अहिले पाटन अस्पतालमा उपचार हुँदैछ ।
