काठमाडौँ । ठगीमा संलग्न रहेको अभियोगमा काठमाडौँ लैनचौरस्थित युरो एसिया एजुकेसन कन्सल्टेन्सी प्रालिका सञ्चालक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने उदयपुर त्रियुगा नगरपालिका–६ जलजले घर भएका ३५ वर्षीय सूर्यबहादुर डाँगीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
सूर्य बहादुरले अध्ययनको लागि युएसए, क्यानडा, अस्ट्रेलिया, युके लगायतका देशहरूमा पठाउन कलेज फि, इन्सुरेन्स पोलिसि समेतको लागि डलर कार्डमार्फत भुक्तानी गर्दा छिटो र सहज हुन्छ भनी आफ्नो कम्पनीको नाममा रहेको बैंक
खातामा रकम जम्मा गर्न लगाई झुट्टा आश्वासन देखाई विश्वासमा पारी पीडितहरूबाट २६ लाख ८ हजार ५ सय ६५ रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।
पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ लैनचौरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
