सिन्धुली गोलन्जोरका २४ वर्षीय केशवराज हायु र सुनकोशीका पारुहाङ राईलाई विदेश पठाइदिने बहानामा करिब २० लाख रुपैयाँ ठगीपछि निर्ममतापूर्वक हत्या गरिएको खुलासा भएको छ। घटनाका मुख्य अभियुक्त देवराज ढुङ्गेल र जयराम अधिकारी गाउँमा पण्डितको काम गर्दै आए पनि काठमाडौंमा अपहरण र हत्या योजनामा संलग्न भएका थिए।
कृषि फार्मका साझेदार रहेका ढुङ्गेलले केशवराजलाई विदेश पठाउने भन्दै परिवारबाट ठूलो रकम उठाएपछि उडान रद्दको नाटक गर्दै जंगलमा लगेर हथौडाले टाउको प्रहार गरी हत्या गरेका थिए। केशवराजको शव ललितपुरस्थित फार्मको सेफ्टी ट्यांकीमा फालिएको थियो। भोलिपल्ट पारुहाङको पनि हत्या गरिएको अनुसन्धानबाट खुलेको छ।
दुई जनाको हत्या गरेपछि अभियुक्तहरूले लुटिएको पैसामा नाचगान गर्दै ‘उत्सव’ मनाएको भिडियोसमेत भेटिएको छ। सुरुमा प्रहरीले फितलो अनुसन्धान गर्दा अभियुक्त छुटेका थिए, पछि टेकुको अपराध अनुसन्धान कार्यालयले पुनः अनुसन्धान गर्दा घटना सार्वजनिक भएको हो।
केशवराज हायु परिवारका एक्ला छोरा थिए। परिवारले कडा सजाय र पीडितलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ।
