भारतको उत्तराखण्ड राज्यको देहरादुनमा जातीय अपमान र हिंसाको शिकार बनेका त्रिपुराका एक विद्यार्थीको उपचारकै क्रममा मृत्यु भएको छ। डिसेम्बर ९, २०२५ मा भएको घटनामा गम्भीर घाइते भएका २४ वर्षीय अञ्जेल चक्माको शुक्रबार बिहान निधन भएको हो।
अञ्जेल चक्मा त्रिपुराका स्थायी बासिन्दा तथा देहरादुनस्थित जिज्ञासा विश्वविद्यालयमा एमबीएको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी थिए। उनका बुबा सीमा सुरक्षा बल (BSF) का जवान हुन्। घटनाको दिन अञ्जेल आफ्ना कान्छा भाइ माइकल चक्मासँग तरकारी किन्न निस्किएका बेला देहरादुनको सेलाकुई क्षेत्रमा केही युवाहरूको समूहसँग विवाद भएको थियो।
माइकल चक्माले प्रहरीमा दिएको जाहेरीअनुसार ती युवाहरू मदिराको नशामा थिए र अञ्जेल तथा माइकललाई “नेपाली”, “चिनियाँ”, “चिन्की” र “मोमोज” जस्ता अपमानजनक जातीय शब्द प्रयोग गरेर गाली गरेका थिए। जब दाजुभाइले त्यसको विरोध गरे, विवादले हिंसात्मक रूप लियो।
आरोपितहरूले सुरुमा माइकल चक्माको टाउकोमा फलामको कडा (बाला) ले प्रहार गरी बेहोस बनाएका थिए। दाजु अञ्जेलले हस्तक्षेप गर्न खोज्दा उनीमाथि घाँटी, पेट र शरीरका विभिन्न भागमा छुरा प्रहार गरिएको थियो। आक्रमणपछि दुवैलाई ज्यान मार्ने धम्की दिँदै आक्रमणकारीहरू फरार भएका थिए।
गम्भीर घाइते अञ्जेललाई तत्काल ग्राफिक एरा अस्पताल पुर्याई आईसीयूमा भर्ना गरिएको थियो। चिकित्सकहरूको प्रयासका बाबजुद उनी करिब १७ दिनसम्म जीवन र मृत्युबीच संघर्ष गरेपछि डिसेम्बर २६, २०२५ को बिहान करिब ४ बजे निधन भएका हुन्।
प्रहरीले सुरुमा घटनालाई हत्या प्रयासको मुद्दामा दर्ता गरेको थियो। अञ्जेलको मृत्यु भएपछि भारतीय न्याय संहिता अन्तर्गत हत्या अभियोग थप गरिएको छ। हालसम्म यस घटनामा पाँच जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा अविनाश नेगी (२५), शौर्य राजपूत (१८), सुरज खवास (१८), आयुष बडोनी (१८) र सुमित (२५) रहेका छन्। उनीहरू सबै प्रभावशाली परिवारसँग सम्बन्धित रहेको बताइएको छ। घटनाका मुख्य अभियुक्तमध्ये एक जना अझै फरार रहेका छन् र प्रहरीले खोजी तीव्र बनाएको छ।
यस घटनाप्रति त्रिपुरास्थित टिपरा मोथा पार्टीका प्रमुख प्रद्योत किशोर देबबर्मनले गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कडा सजाय दिन माग गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “जब संसार क्रिसमस मनाइरहेको थियो, हामीले अञ्जेल चक्मालाई गुमायौँ। हामी न्याय चाहन्छौँ।”
यस घटनाले भारतमा विशेषगरी उत्तर–पूर्वी राज्यका नागरिकहरूविरुद्ध हुने जातीय विभेद र हिंसामाथि पुनः गम्भीर प्रश्न उठाएको छ। विभिन्न मानवअधिकारकर्मी र सामाजिक अभियन्ताहरूले यस्ता घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा सजाय दिन माग गरेका छन्।
अञ्जेल चक्माको मृत्युसँगै फेरि एकपटक स्पष्ट भएको छ—जातीय घृणा र विभेदले अझै पनि निर्दोष युवाहरूको जीवन लिइरहेको छ। उत्तर–पूर्वी भारतका नागरिकहरू पनि अन्य भारतीय सरह समान अधिकार र सम्मानका हकदार हुन् भन्ने सन्देशलाई यो घटनाले थप बलियो बनाएको छ।
