बिराटनगर : मोरङको लेटाङ नगरपालिका-२ की १३ वर्षीया बालिका अंशु गौतमको वीभत्स हत्यामा संलग्न ५९ वर्षीय पदमबहादुर अधिकारीविरुद्ध मोरङ जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ । अभियोगपत्रमा अभियुक्त अधिकारीलाई मुलुकी अपराध संहिता बमोजिम आजीवन कारावास र सात लाख रूपैयाँ जरिवानाको मागदाबी गरिएको छ । अधिकारी अंशुका छिमेकी हुन् । पदमले बालिकालाई ललाई–फकाई जङ्गल पुर्याएर गत असोज २१ गते वीभत्स हत्या गरेका थिए ।
अभियुक्त अधिकारीले हत्याका पछाडि पुरानो रिसइबी र तत्कालको यौन आवेगलाई मुख्य कारणका रूपमा बयान दिएका छन् । उनले बयानमा बताए अनुसार साउदी अरबमा रोजगारीमा रहँदा बालिकाका बुवासँग भएको विवादलाई लिएर मनमा लामो समयदेखि प्रतिशोध पालेर बसेका थिए । पारिवारिक रूपमा उनीहरूको बोलचाल समेत छैन । परिवारसँग रिस राग, ईर्ष्या रहेको उनले प्रहरीलाई दिएको बयानमा भनेका छन् ।
अंशुको बुवाआमा घरमा नभएको समयमा उनी आफ्नो घरमा आउने, आफ्नी नातिनीसँग खेल्ने, मोबाइल हेर्ने गरेको उनले बताएका छन् । घटना भएको दिन अंशु एक जना साथीसँग लक्ष्मी माध्यमिक विद्यालय खेलिरहेकी थिइन् । पछि उनी पदमसँग पाँच रूपैयाँ मागेर त्यहाँबाट गइन् । उनी हिँडेपछि अंशुलाई देखेर आफूलाई यौन चाहना उत्पन्न भएको पदमले प्रहरीसँगको बयानमा भनेका छन् । उनले बयानमा भनेका छन् ‘अंशु नानी मलाई जंगलबाट घाँस ल्याउनुछ, तँ मसँग जंगल जाउँ न भन्दा उनले हुन्छ भनेपछि मैले जंगल छिर्ने बाटोको मुखमा आइज, म साइकल लिएर त्यहीँ बसेको हुन्छु भनेर फकाएर लगेको हुँ ।’
जंगलको मुखसम्म अंशु आएपछि साइकलमा पछाडि चढाई खलिभित्र घाँस काट्न जानुपर्छ भन्दै उनले लिएर गएका थिए । उनले साइकलबाट ओर्लिएर साइकल डोर्याउँदै लगेका थिए । साइकललाई रूखमा अड्याएर उनले अंशुलाई यौन सम्पर्क गर्ने प्रस्ताव गरेका थिए । उनले बयानमा भनेका छन् ‘उनले नमानी प्रतिकार गरेकोले मैले निजले लगाएको कम्मर भन्दामुनिको कपडा खोलीदिई मैले आफूले लगाएको तलको कपडा समेत खोली जबर्जस्ती करणी गर्न खोज्दा निजले यसो नगर्नु भन्दै प्रतिकार गरी रोई कराउन थालिन् । म सुगरको बिरामी भएका त्यसबेला कारण मेरो लिङ्ग उत्तेजित समेत भएन ।’
बालिका रोई कराइ गर्न थालेपछि आफ्नो कर्तुत बाहिरिने डर र अंशुका बुवासँग भएको रिसिबी समेतको कारणले बालिकालाई मार्ने योजना बनाएको अधिकारीले बयानमा भनेका छन् । हत्या गरेर कसैले नदेख्ने गरी शवलाई सोही स्थानमा रहेको झाडीमा फालेको उनले भनेका छन् । त्यसपछि घर फर्कँदा स्थानीयले शंका गर्ने डरले उनले एक मुठो घाँस काटेर लगेका थिए ।
घर पुगेको केही समयपछि बालिकाका घरपरिवारले छोरीको खोजतलास गर्न थालेका थिए । आफूमाथि शंका नहोस् भनेर आफूले पनि खोजतलास गर्न सघाएको अधिकारीले प्रहरीलाई दिएको बयानमा भनेका छन् । तर, डर लागेपछि हत्या गरेको स्थानमा भने आफू नपुगेको उनले बताएका छन् । कात्तिक ७ गते अंशुको शव फेला परेको थियो । त्यसपछि प्रहरीले उक्त घटनाको अनुसन्धानको सिलसिलामा अधिकारीलाई समेत बयानमा बोलाएको थियो । घटनाको वास्तविकता लुकाउनका लागि त्यतिबेला बयानमा केही नभनेको उनले बताएका छन् ।
उनले दुई-तीन पटकसम्म शवलाई खाल्डो खनेर पुर्ने प्रयास समेत गरेका थिए । तर, डरका कारण जान नसकेको उनले बताएका छन् । प्रहरीले शंका गर्दैन भन्ने लागेपछि घरबाट बाहिर भाग्ने योजना बनाएको उनले बताएका छन् । छोरा सीताराम अधिकारी बालयौन दुरूपयोग मुद्दामा जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरी रहेको अवस्थामा कात्तिक १८ गते कैद भुक्तान गरी घर आउने भएपछि उनी छोरालाई ल्याउनका लागि मोरङ जिल्ला कारागार समेत आएका थिए । भोलिपल्ट बिहानको समयमा गाँउकै मोतीराम गुरुङ र जेठान रामबहादुर कटुवालसँग उनले जरुरी काम पर्यो भनेर १०/१० हजार मागेका गाउँ छाडेका थिए ।
‘छोरा सीताराम अधिकारीलाई जिल्ला अदालत मोरङमा उपस्थित गराउनु पर्ने भएकोले मैले घरबाट बाहिर जाने उद्देश्यले केही लुगा कपडाहरू झोलामा बोकी म र मेरो छोरा सीताराम अधिकारी घरबाट म्याजिक भ्यान गाडीमा चढी मोरङ जिल्ला अदालतमा गई काम सकेर दिउँसोको समयमा विराटनगरबाट काँकडभिट्टासम्म जाने सार्वजनिक बसमा चढी बेलबारीसम्म छोरासँगै आई मैले छोरालाई अब तिमी घर जाउ, घर सम्हाल्नु पर्छ, घर परिवार राम्रोसँग हेर, म कमाउनका लागि भारततर्फ जान्छु भन्दै सोही बसमा काँकडभिट्टासम्म पुगी बसबाट ओर्लिएर सोही स्थानमा रहेको नम्बर थाहा नभएको ट्याक्सीमा चढी भारतको जलपागुडीसम्म गएको थिएँ’, पदमले बयानमा भनेका छन् ।
उनले भारतको गुवाटी बजारमा रहेको मिठाइ पसलमा १५ (पन्ध्र) दिनसम्म काम गरेका थिए । त्यो काम गर्न मन नलागेपछि पुन: भारतको मेघालयको एउटा गाई फर्ममा काम गरेका थिए । घर परिवारसँग कुराकानी गर्दा श्रीमती र छोरीले प्रहरीले हामीलाई बोलाएर सोधपुछ गर्दैछ , तपाई किन घर सल्लाह नगरी घरबाट कहाँ जानु भयो ? तपाईं घर आउनु भनेपछि अब पनि घर नफर्कँदा प्रहरीले शंका गर्छ भन्ने लागेर घर फर्केको उनले भनेका छन् ।
मंसिर १८ गते दिउँसोको समयमा उनी घरमा आएका थिए । मंसिर १९ गते प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले अंशुको हत्या गर्दा प्रयोग गरेको हँसिया, साइकल, चप्पल, हाफपाइन्ट, टोपी लगायतका सामग्री पनि घरबाट नै लगेको थियो । प्रहरीले अभियुक्त अधिकारीले मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ (क) बमोजिम क्रुरतापूर्वक वा निर्ममतापूर्वक ज्यान मारेको ठहर गर्दै उनलाई आजीवन कैद सजाय हुनुपर्ने माग गरेको छ । साथै, जबर्जस्ती करणीको उद्योग गरेकोमा प्रचलित कानून बमोजिम आधा सजाय र सात लाख रूपैयाँ जरिवानाको माग गरिएको छ । जरिवानाबापतको रकम पीडित राहत कोषमा जम्मा गर्न र मृतकको हकवालालाई उचित क्षतिपूर्ति दिलाउन समेत माग दाबी गरिएको छ ।- लोकान्तर बाट
