• Saturday 17th of October 2026

हिजबुल्लाह समूहसँग युद्ध विराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजाने


  • धनकुटा खबर
  • .

काठमाडौँ – लेबनानस्थित हिजबुल्लाह समूहसँग युद्ध विराम भएसँगै इजरायलले नेपालबाट स्वास्थ्य सहायक (केयरगिभर) लैजाने भएको छ ।

अमेरिकाको मध्यस्ततामा इजरायल र हिजबुल्लाह समूहबिच युद्धविराम भएको छ । युद्धविरामसँगै गत वर्षदेखि जारी युद्ध स्थगित भएको छ ।युद्ध रोकिएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजाने जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग भेटवार्ता गर्दै नेपालका लागि इजरायली राजदूत स्ह्मुलिक एरिइ बसले केयरगिभर लैजाने बताएका हुन् ।

राजदूत बसले आज मन्त्री भण्डारीसँग शिष्टाचार भेट गर्दै उक्त कुराको जानकारी दिएका हुन् । हाल इजरायलमा युद्धविराम भइसकेको हुँदा छनोट भएका सबै नेपाली कामदारलाई क्रमशः लैजाने जानकारी गराएका हुन् ।

भेटका क्रममा नेपाल र इजरायलबिच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन केयरगिभरका रूपमा छनौट भएका नेपाली कामदारहरूलाई यथाशीघ्र इजरायल पठाउने विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता वसन्त बहादुर बोहराले जानकारी दिए ।

नेपाली कामदारहरूलाई केयरगिभिर बाहेक कृषि, निर्माण लगायतका अन्य क्षेत्रमा समेत लैजान सकिने बताएका थिए । भेटका क्रममा मन्त्री भण्डारीले केयरगिभरको रूपमा इजरायल जान छनोट भई पखाईमा रहेका नेपाली कामदारहरूलाई यथाशीघ्र पठाउनका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय र पहल गर्ने बताए ।

कामदारको श्रोत मुलुकको रूपमा नेपाललाई इजारायलते सूचिकृत गर्ने, कृषि, निर्माण लगायतका अन्य क्षेत्रमा समेत नेपाली कामदारहरू पठाउनका लागि पहल गर्ने, कृषि प्रविधि हस्तान्तरण गर्ने, सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको हक अधिकार संरक्षण र सुरक्षा लगायतका विषयमा दुवै देशहरुबिच थप कूटनीतिक पहल गर्ने विषयमा छलफल भएको थियो ।

राजदूतले नेपाली कामदारहरु केयरगिभरको क्षेत्रमा उत्कृष्ट रहँदै आएको बताएका थिए ।

मन्त्री भण्डारीले कामदारको सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण लगायतका क्षेत्रमा कार्य गर्ने र आगामी दिनमा कृषि, निर्माण लगायतका क्षेत्रमा थप सीपयुक्त जनशक्ति पठाउने सम्बन्धमा सहकार्य गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖