• Saturday 17th of October 2026

इन्स्टाग्राममा ‘लभ’ परेर विहे गर्न आएका बेहुला १५० जन्तीसहित अलपत्र परेपछि….


  • धनकुटा खबर
  • .

एजेन्सी/ इन्स्टाग्राममा भेटिएकी प्रेमिकालाई बिहे गर्न आएका बेहुला र जन्ती अलपत्र परेका छन् । भर्चुअल प्रेममा परेका भारतका २४ वर्षीय दीपककुमार १५० जनाको जन्तीसहित बेहुलीले बोलाएको ठाउँ पुगेका थिए ।

तर, युवतीले भनेको ठाउँमा पुगेर सम्पर्क गर्दा फोन अफ गरी फरार भएपछि उनीहरू अलपत्र परेका हुन् । भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)का अनुसार पीडित बेहुला दीपक वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा थिए । त्यस क्रममा उनले इन्स्टाग्राममा मनप्रित कौर नामकी युवतीको अकाउन्ट फेला पारे । त्यसमा जोडिएर महिनौँ कुराकानी गरे । युवतीले आफू वकिल तथा अधिवक्ता भएको बताएकी थिइन् । कुराकानी गर्दै जाँदा उनीहरूको सम्बन्ध प्रेममा बदलियो ।

झन्डै तीन वर्षसम्म उनीहरूले इन्स्टाग्राममै च्याट गरे । फोटो आदान प्रदान गरे । यति बेलासम्म उनीहरूले भेटघाट भने गरेका थिएनन् । अन्तिममा उनीहरूले आफ्नो प्रेम सम्बन्ध बिहेमा परिणत गर्ने योजना बनाए । र, आआफ्ना बुबाआमालाई फोनमा कुरा गर्न लगाए । सबै कुरा मिलेपछि ६ डिसेम्बरमा बिहे गर्ने निश्चित भयो ।

सबै कुरा मिलिसकेपछि दीपक दुबईबाट भारत आए । र, परिवारका केही सीमित व्यक्तिलाई लिएर जन्ती जाने तयारी गरे । तर, युवतीको परिवारले जन्तीमा गाउँभरका मान्छे ल्याउनुपर्ने माग राखे ।

दीपकको घर पञ्जाब राज्यको जलन्धार मन्दी भन्ने गाउँमा छ । युवतीले पन्जाबकै मोगा भन्ने सहरको ‘रोज गार्डेन प्यालेस’ नामक पार्टी प्यालेसमा आउन भनेकी थिइन् ।

त्यसपछि दीपक १५० जना जन्ती लिएर मोगा सहरमा पुगे । साँझ पाँच बजेसम्म पनि बेहुलीको तर्फबाट कोही नआएपछि पीडित बेहुला दीपकले स्थानीयलाई त्यस पार्टी प्यालेसका बारेमा सोधे । तर, त्यहाँ ‘रोज गार्डेन प्यालेस’ नामको कुनै पार्टी प्यालेस नै नभएको पाइयो ।

त्यस लगत्तै दीपकले युवतीलाई फोन गरे । तर, उनको फोन अफ थियो । सहरमा अलपत्र परेपछि दीपक र उनको परिवार नजिकैको प्रहरी चौकीमा गइ उजुरी दियो ।

पीटीआईसँग कुराकानी गर्दै दीपकले आफूलाई बिहेको सबै बन्दोबस्त मिलाउन महिनौँ लागेको बताए । पाहुनाका लागि ट्याक्सी, त्यसमा सजाउने फूल, भिडिओ ग्राफरमा लाखौँ खर्च गरेको उनको भनाइ छ ।

यतिसम्म कि युवतीले बिहेकै लागि भनेर दीपकसँग ५० हजार भारु मागेकी थिइन् । युवती पनि फोटोमा देखिएकी नै हुन् कि होइनन् भन्नेमा समेत दीपकलाई शङ्का लागेको छ । त्यस बाहेक उनको परिवार भनेकाहरू पनि नक्कली हुन भन्नेमा पनि उनको आशङ्का छ ।

यो सबै ठगी गर्नैकै लागि रचिएको षड्यन्त्र थियो वा युवती केही समस्याले गर्दा अलपत्र परेकी हुन् भन्ने खुलिसकेको छैन । प्रहरीका असई हरजिन्दर सिंहले पीटीआईलाई भने अनुसार यस घटनामा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖