निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता संलग्न भएको घुस अडियो प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि संलग्न भएको भेटिएको छ ।
राजिनामा दिएका मन्त्रीले रकम लिएका व्यक्तिसँग नै पूर्वमन्त्री श्रेष्ठले पैसा मागेको प्रमाण फेला परेको हो ।
अडियो रेकर्ड गर्ने पोखराका व्यक्तिसँग पूर्वमन्त्री श्रेष्ठले पटकपटक सम्पर्क गरेको र पैसा समेत मागेको खुल्छ । उनले मन्त्रिपरिषद् बैठकको सूचना आदान प्रदानदेखि आफ्नो निजी सुरक्षा अधिकृत (पीएसओ) प्रयोग गरेर समेत पैसा मागेको खुलेको हो ।
पूर्वमन्त्री श्रेष्ठले ९८५१२***५४ नम्बरको फोनबाट पोखराका ती व्यक्तिसँग बारम्बार सम्पर्क गरेको र रकम समेत मागेको प्रमाण अनलाइनखबरले प्राप्त गरेको हो । तर पूर्वमन्त्री श्रेष्ठले आफूमाथिको आरोप प्रतिवाद गर्दै भनिन्, ‘मैले त्यसरी कसैसँग पनि पैसा मागेको छैन ।’
