६ वर्षको उमेरमा “खानेकुरा ल्याइदिन्छु” भन्दै बाटोमा छोडिएका स्वस्तिका केसी १४ वर्षपछि आफ्ना बाबुसँग भेटेकी छन्।
काभ्रेको बालगृहमा हुर्किएकी उनी अहिले कक्षा १२ मा अध्ययनरत छन्। नागरिकता बनाउन बाबुको नाम आवश्यक भएपछि सामाजिक अभियन्ता अर्जुन भुसालको साथमा उनले खोजी थालिन्।
बीरगञ्जदेखि भक्तपुरसम्मको यात्रापछि अन्ततः बाबुसँग भेट भयो। स्वस्तिका अगाडि आएपछि, बाबु भावुक बने। भुइँमा छोरीको खुट्टा ढोक्दै माफी मागे। “छोरी, म त्यो बेला साह्रै कमजोर थिएँ, काम पनि थिएन, पैसा पनि थिएन,” उनले भने, “तिमीलाई कसैको घरमा राख्ने सोचेको थिएँ, तर कोही तयार भएनन्। त्यसैले… म अपराधी भएँ।”
अब बाबुले छोरीलाई सबै डकुमेन्ट बनाइदिने, साथ दिने र बाबुको कर्तव्य पूरा गर्ने बाचा गरेका छन्। “स्वस्तिकाको मनमा घाउ अझै छ, तर उनले माफी मागेपनि अब के निर्णय लिन्छिन हेर्न बाँकि छ।”
