• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कोरियाबाट फर्केका युवासंग होटलमा रात बिताईन,१४ लाख स्वाहा पारिन


  • धनकुटा खबर
  • .

२०८१ साउनको सुरुवात थियो। सुर्खेतका २० वर्षीय एक युवा कोरियाबाट नेपाल फर्किए। झोला भारी थिए — सामानभन्दा बढी सपना बोकेर। सात समुन्द्र पारि पसिना बगाएर कमाएको पैसाले घर बनाउने, व्यवसाय गर्ने, जीवनलाई नयाँ सुरुवात दिने योजना थियो उनको मनमा।

घर फर्किएको केही सातामै पुरानी चिनजानकी एउटी युवतीले फोन गरिन् — “कहाँ छौ दाइ, भेट्न मन लागेको…”

युवती थिइन् दैलेखकी सिन्दु चन्द, अहिले वीरेन्द्रनगर–९ मा बस्दै आएकी २१ वर्षीया। उनीहरू पहिले फेसबुकमार्फत चिनिएका थिए, कोरियामा हुँदा कहिल्यै भेट नभएका । सिन्दुले आग्रह गरिन् — “बुलबुले भ्यु होटलमा भेटौं न, कुरा गरौं…।”

भेट भयो। सामान्य कुराकानी भयो। अनि सबै कुरा सामान्य जस्तो देखिन्थ्यो। त्यो दिन उनीहरूबीच शारीरिक सम्बन्ध पनि भयो, सहमतिमै। युवकलाई लाग्यो — सायद प्रेमको सुरुवात भयो। तर त्यो सुरुवात वास्तवमा एक सुदूर अन्धकार सुरुङको प्रवेशद्वार थियो, जुन उनले देख्न सकेनन्।

त्यो सम्बन्धपछि केही दिन सिन्दु झनै नजिकिन थालिन्। कहिले बजार लैजान, कहिले किनमेल गराउन। युवकलाई लाग्यो, ‘शायद जीवन नयाँ मोडमा छ।’ तर केही महिना नबित्दै सिन्दुको अनुहार बदलिन थाल्यो।

एक साँझ उनले भनिन्, “त्यो दिनको फोटोहरु छन् मसँग, नदिए जबरजस्ती करणीको मुद्दा हाल्दिन्छु।”
युवकको मुटु एकाएक चिसो भयो। “के… के भन्या यस्तो? त्यो त हामीबीच सहमति थियो नि…”

तर सिन्दुको स्वर चिसो र कठोर थियो, “२ लाख दे है, अनि सबै डिलिट गर्छु।”

त्यसपछि सुरु भयो त्रास र ब्ल्याकमेलको डरावह यात्रा। समाज, परिवार, इज्जत र कानुनी झमेलाको डरले युवक लम्पसार परे। सुरुमा २ लाख दिए। फेरि १ लाख, फेरि ३ लाख…

प्रहरीका अनुसार डेढ वर्षसम्म युवकले सिन्दुलाई जम्मा १४ लाख २५ हजार रुपैयाँ विभिन्न मितिमा खातामार्फत बुझाए।

पछिल्लो पटक त उनले पाँच लाख एकैचोटि मागिन्। पैसा सकिँदै गयो, साहूहरुसँग ऋण लिनुपर्‍यो। अब युवकको दैनिकी तनाव, डर र निराशाले भरिएको थियो।

“बरु मुद्दा हालिहालेकी भए, म यति बर्बाद हुने थिइनँ…”

एकदिन साहस जुटाएर उनी जिल्ला प्रहरी कार्यालय, सुर्खेत पुगे। आँखा रातो थिए, स्वर भक्कानिएको थियो —
“सर, म त बर्बाद भएँ। पैसा सकियो, अझै माग्दैछे। अब के गर्ने?”

डीएसपी मोहनजंग बुढथापा भन्छन् — “ऊ निकै डराएको थियो। उसले कल रेकर्ड, म्यासेज र बैंक स्टेटमेन्ट देखायो। हामीले भरोसा दिलायौं — अब डराउनु पर्दैन।”

त्यही दिन सिन्दु चन्दमाथि उजुरी दर्ता गरियो। अनुसन्धान सुरु भयो। मंगलबार बिहान प्रहरीले उनलाई नियन्त्रणमा लियो। सुरुमा उनले युवकलाई ‘दाइ’ भन्दै उम्किने प्रयास गरिन्। तर प्रमाण अगाडि उनी चुप लागिन्। उनले पैसा लिएको स्वीकार गरिन्।

एकदिन उज्यालो सपना बोकेर फर्किएका युवक अहिले गहिरो अँध्यारोको सामना गर्दैछन्। १४ लाख रुपैयाँ मात्र होइन, आत्मबल, आत्मसम्मान र समाजमा उठ्ने साहस गुमाएका छन्।

प्रहरीले उनलाई भनेको छ — “तपाईं पीडित हो, अब तपाईंको लडाइँ हामी लड्नेछौं।”

र ती युवक, जसले करिब डेढ वर्षसम्म डरको आँधी सहेरै बाँचिरहेका थिए, अहिले सत्यको उज्यालोमा निस्कन थालेका छन्।

यो कथा हो – एक ‘हनी ट्रयाप’को, जुन समाजका लागि चेतावनी हो। सम्बन्धको नाममा चलाइने यस्ता योजनाबद्ध ठगी अब गुपचुप रहनु हुँदैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖