• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

‘लिभिङ टुगेदर’ मा बस्दै आएका प्रेमीले गरे निर्मलाको हत्या


  • धनकुटा खबर
  • .

नेपालगन्जमा एक युवतीको आफ्नै प्रेमीले हत्या गरेका छन्। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ बेलासपुरमा बस्दै आएका ३३ वर्षीय प्रकाश सुनारले आफ्नी प्रेमिका १९ वर्षीया निर्मला थापाको हत्या गरेका हुन्। स्थानीयका अनुसार उनीहरू केही वर्षदेखि उक्त स्थानमा ‘लिभिङ टुगेदर’ मा बस्दै आएका थिए।

दैलेख घर भई नेपालगन्जको विपीचोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको काम गर्ने निर्मलाको स्थानीय स्वस्तिक कटेजमा काम गर्ने सुनारले हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् प्रवक्ता दीपक पतालीले जानकारी दिए। प्रहरीका अनुसार निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरी शवलाई कोठामा बन्द गरेर फरार भएका थिए।

घटनाको एक दिनपछि प्रकाशले मृतकका परिवारलाई फोन गरेर आफूले निर्मलाको हत्या गरेको खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय बाँकेमा शुक्रबार बिहान फोन गरेर निर्मलाको हत्या आफूले गरेको स्वीकार गर्दै आत्मसमर्पणका लागि प्रहरी कार्यालयमा आउन लागेको जानकारी गराएका थिए। प्रहरी कार्यालय आउँदै गरेका प्रकाशलाई प्रहरीले बीच बाटो धम्बोझी नजिकबाटै नियन्त्रणमा लिएको थियो।

अभियुक्त प्रकाशले दिएको सूचनाका आधारमा उनीहरू बस्दै आएको डेरामा प्रहरी पुगेर मृतक निर्मलाको शव फेला पारेको थियो। मृतकको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा राखिएको डिएसपी पतालीले बताए। शव पोष्टमार्टम गरेर शनिबार परिवारको जिम्मा लगाइने उनले बताए। विवाहित प्रकाशको घरमा श्रीमती, एक छोरा, एक छोरी रहेका छन्। ‘अभियुक्त प्रकाशले निर्मला मेरो कान्छी श्रीमती हो भन्ने बयान दिएको छ, हत्या गर्नुको एकिन कारण अहिलेसम्म खुलेको छैन, अनुसन्धान प्रक्रिया अघि बढेको छ,’ डिएसपी पतालीले भने। -अर्जुन ओली/नागरिक न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖