• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपाली कांग्रेसका ठुलै नेताको निधन


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ। उनी ७६ वर्षका थिए।

गुरुङको निधन आज (शनिबार) बिहान ८ बजे भरतपुर महानगरपालिका–२६ स्थित आफ्नै निवासमा भएको हो। विगत केही समयदेखि क्यान्सर रोगसँग जुझिरहेका उनी घरमै उपचार गराइरहेका थिए।

कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए। त्यसअघि उनले भूमि आयोग नवलपरासीको अध्यक्ष भएर पनि काम गरेका थिए।

नेपाली कांग्रेस विभाजनको समयमा उनी प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति रहेका थिए। विसं २०४६ को जनआन्दोलन परिचालन समितिमा समेत संलग्न भएका गुरुङले कांग्रेसको विभिन्न तहमा रहेर पार्टी र लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

गुरुङको जन्म विसं २००६ मा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–ल्वाङघलेलमा भएको थियो। पछि उनी चितवन बसाइँसराइ गरी आएका थिए।

उनका एक छोरा विदेशमा रहेका छन्। परिवारका अनुसार छोराको उपस्थितिमा आइतबार अन्त्येष्टि गरिनेछ।

नेता गुरुङको निधनप्रति नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दल र सामाजिक व्यक्तित्वहरूले शोक व्यक्त गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖