• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अनौठो घटना : बालकको टोकाइबाट कोब्राको मृत्यु


  • धनकुटा खबर
  • .

नागरिक बेतिया, बिहार (एजेन्सी) १० श्रावण २०८२ २ मिनेट पाठ

भारतको बिहारस्थित बेतिया गाउँको एक अनौठो घटना सार्वजनिक भएको छ। यहाँका दुई वर्षीय बालकको टोकाइबाट विषालु कोब्रा सर्पको मृत्यु भएको छ।

शुक्रबार दिउँसो करिब २ बजे सुनील साहका दुई वर्षीय छोरा गोविन्द कुमार आफ्नै घरको आँगनमा खेलिरहेका थिए। उनकी आमा घर पछाडि दाउरा काट्दै थिइन्। दाउराको थुप्रोबाट निस्किएको विषालु कोब्रा सिधै खेल्दै गरेका गोविन्द नजिक पुग्यो।

स्थानीयका अनुसार, उनी खेलिरहेका बेला करिब दुई फिट लामो कोब्रा (स्थानीय भाषामा ‘गेहुँअन’) उनको हातमा बेरिन आइपुगेको थियो।

जिज्ञासु स्वभावका गोविन्दले सर्पको खतरालाई नबुझी खेलौना ठानेर इँटाको टुक्राले हाने। त्यसपछि सर्पले उनीमाथि आक्रमण गर्दै उनको कलिलो हातमा बलियोसँग बेरियो। बालकले त्यसलाई खेलौना ठानेर वा अचानक आत्तिएर टोकेको हुनसक्ने अनुमान गरिएको छ।

बालकको टोकाइपछि सर्पको घटनास्थलमै ज्यान गयो। त्यसको केहीबेरमै गोविन्द पनि बेहोस भए। आत्तिएका परिवारले उनलाई तुरुन्तै नजिकैको स्वास्थ्य चौकी पुऱ्याए।

त्यहाँबाट थप उपचारका लागि बेतियास्थित सरकारी अस्पताल लगियो। हाल उनको अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएका छन्।

चिकित्सक टोलीका अनुसार, सर्पको मृत्यु बालकको टोकाइबाट टाउको र मुखमा लागेको गहिरो चोटका कारण भएको देखिन्छ। अर्कोतर्फ, सर्पको विषको असर गोविन्दमा सामान्य मात्रै परेको थियो, जसले उनलाई बेहोस बनायो तर ज्यान लिन सकेन।

अस्पतालका डा. दिवाकान्त मिश्रले बालकको अवस्था स्थिर रहेको र शरीरमा विषको कुनै असर नदेखिएको बताए। ‘बालकको स्वास्थ्य परीक्षण गर्दा विषको कुनै लक्षण पाइएन, उनी खतरामुक्त छन्,’ डा. मिश्रले भने।

बालककी हजुरआमा मतेश्वरी देवीले भन्छिन, ‘बालकको आमा नजिकै दाउरा बटुलिरहेकी थिइन्। हामीले बच्चाको हातमा सर्प देख्यौं, सबैजना ऊतिर दौडियौं, तर त्यतिबेलासम्म त उसले सर्पलाई टोकेर मारिसकेको थियो।’

हाल बालक चिकित्सकको निगरानीमा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖