• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

टिकटकबाट माया बस्यो, प्रेमीले ‘नोट’ लेखेर मृत्यु रोजेपछि प्रेमिकाविरुद्ध अनुसन्धान


  • धनकुटा खबर
  • .

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–१० घर भएका रिनेश घिमिरे असार ३१ मा मृत भेटिए । घिमिरे टिकटकर पनि हुन् । टिकटकमा उनका ६६ हजार फलोअर्स छन् ।

त्यही टिकटकमा ६ महिनाअघि चिनजान भएकी एक जना युवतीसँग उनको माया बस्यो । दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर–६ घर भएर काठमाडौँ बस्ने रविना खड्का उर्फ सुप्रियासँग उनी प्रेममा थिए ।

प्रेम सम्बन्धको बिचमा नै घिमिरेले ‘सुसाइड नोट’ लेखेर मृत्यु रोजेपछि रविना अहिले थुनामा छिन् । उनलाई हिरासतमा राखेर प्रहरी वृत्त चापागाउँले अनुसन्धान गरिरहेको छ । रविनाविरुद्ध ‘आत्महत्या दुरुत्साहन दिन नहुने’ कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए ।

उनीहरूको बिचमा ६ महिनाअघि चिनजान भएको थियो । करिब ४ महिनादेखि उनीहरू प्रेम सम्बन्धमा रहेको थाहा भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । प्रेम सम्बन्ध निरन्तरताकै बिचमा रिनेशले जुलाई १५ (असार ३१) मा सामाजिक सञ्जाल फेसबुकमा लेखे– ‘बाउ आमाको बुढेसकालको साहारालाई आज घाँटीमा पासो लगाउन बाध्य बनाउने तिमीलाई उज्वल भविष्यको शुभकामना अनि धेरै धेरै माया, अलबिदा !’

सो नोट लेखेर उनले आत्महत्या गरे । आफूविरुद्ध नोट लेखेर रिनेशले आत्महत्या गरेपछि रविना आफैँ प्रहरी कार्यालयमा उपस्थित भइन् । परिवारले प्रेमिकाको कारण रिनेशले आत्महत्या गरेको भन्दै साउन ५ मा रविना खड्का विरुद्ध जाहेरी दिए ।

अहिले प्रहरीले सो घटनामा अनुसन्धान गरिरहेको छ । रविना विरुद्ध प्रहरीले ललितपुर जिल्ला अदालतबाट दोस्रो पटक ५ दिनको म्याद लिएको छ ।

मृतकको मोबाइल परीक्षण गर्न डिजिटल फोरेन्सिक ल्यावमा पठाइएको एसपी जोशीले बताए । रविनाले मृतकलाई रकम पनि दिएको अनुसन्धान अधिकृतहरूसँग दाबी गरेकी छन् । तर, हालसम्मको प्रमाणबाट सो कुरा पुष्टि नभएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

रविनाका अनुसार रिनेश सोह्रखुट्टेस्थित उनको डेरामा आउजाउ गरिरहन्थे । रविना पनि टिकटकर हुन् । रविनाले मृतकको परिवारका सदस्यहरूसँग चिनजान नभएको अनुसन्धान अधिकृतहरूसँग बताएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖