सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना बेपत्ता भएको घटनाले स्थानीय तहदेखि प्रहरीसम्म आश्चर्य चकित परेका छन् ।
प्रहरी र स्थानीय घरमा पुगेर हेर्दा मूल ढोका खुलै थियो । गोठमा बाख्रा र कुखुरा थुनिएका थिए । भान्सा बनाइएको सानो टहरो भने भत्किएको जस्तो देखिन्छ ।
प्रहरीले थालेको प्रारम्भिक अनुसन्धानमा गत बिहीबार उनीहरूले सुँगुर काटेर खाएका थिए । त्यही दिन लोपोन्मुख हायुलाई स्थानीय तहले भत्तासमेत वितरण गरेको थियो ।
जनही १२ हजार रुपैयाँका दरले १६ जनाले एकमुस्ट रकम पाउँदा त्यही पैसाले उनीहरू कतै घुम्न गएको हुनसक्ने आशंका पनि गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार प्रहरी र स्थानीयहरू घटनास्थल पुगेर हेर्दा त्यस्तो शङ्कास्पद केही देखिएको छैन ।
‘बाख्रा र कुखुरा खोरमै छन्, ढोकामा ताला लगाइएको छैन,’ एसपी सुवेदीले लोकान्तरसँग भने, ‘बिहीबार सुँगुर काटेर खाएको र त्यही दिन भत्ता पनि पाएको सुनिन्छ ।’
एसपी सुवेदीका अनुसार प्रहरी घरमा पुगेर स्थानीयसँगै मिलेर उनीहरूको खोजीकार्य शुरू गरेको छ ।
एसपी सुवेदीका अनुसार गोलन्जोर गाउँपालिका– ६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा उर्मिला हायुसहित १६ जना बस्दै आएका थिए ।
