• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

श्रीमानको मृत्युपछि उर्मिलाको परिवार ऋणमा डुब्यो, धामीले यस्तो भने पछी सबै छोडेर हिडे १६ जना


  • धनकुटा खबर
  • .

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ को बिखर कटेरी छेड्पा। त्यहीँ थियो उर्मिला हायूको सानो जस्ताको घर। तीन वर्षअघि श्रीमानको मृत्यु भएपछि उर्मिला एक्लै भइन्। तर सँगै थिए १६ जनाको ठूलो परिवार – छोराछोरी, बुहारी, नातिनातिना।

घर थियो, तर जीवन थिएन।बैंक र सहकारीको ऋणले घरको ढोका पटक–पटक खट्काउँथ्यो। भत्ता त पाउँथे, तर त्यो न जीवन चलाउन पुग्थ्यो, न सपना पाल्न।

त्यस दिन बिहान गाउँलेहरू उठ्दा उर्मिलाको घर सुनसान थियो। कोही थिएन। बाख्राहरू भुकिरहेका थिए, कुकुर आँगनमा बेस्करी घुरिरहेका।कसैले सोधे – “उर्मिला कता गइन्?”उत्तर कसैसँग थिएन।

सोमबार “१६ जना परिवार सम्पर्कविहीन छन्।” भन्ने खबरले तरंग फैलायो।

सोधपुछ बढ्दै जाँदा पत्ता लाग्यो – उनीहरू शनिबार राति नै एक भ्यान चढेर निस्किएका रहेछन्। चालक जीवन भनिने नविन विकले प्रहरीलाई बताए –“मधेस प्रदेश ०४–००१ ज ००८१ नम्बरको भ्यानमा राखेर सिन्धुलीको बलेनीबाट पोखरा लगेको हुँ। रातको १ बजे हिँडेर खनियाँखर्क–हेटौंडा–मुग्लिन हुँदै पोखरा गएका थियौं।”

उनले थपे – “लेकसाइडको एउटा होटलमा छाडेको थिएँ।”प्रहरी त्यही होटल पुग्यो। सञ्चालकले सम्झिए – “तीन कोठा लिएर एक रात बसेका थिए। आइतबार बिहान निस्किए।”त्यसपछि उनीहरू कतै देखिएका थिएनन्।

सोमबार राति ९:२०।
कास्की प्रहरी टोलीले गगनगौँडाको दुई घरमा खोजी गर्‍यो। चन्द्र भण्डारीको घरमा ४ जना थिए। सोमनाथ पौडेलको घरमा १२ जना।प्रहरीले सोध्यो – “किन आएका पोखरा?”
उनीहरूको जवाफ थियो –“बस्न मन लागेन त्यहाँ। काम थिएन, अस्पताल टाढा थियो, हरेकचोटी बिरामी हुन्थ्यौं। अब हामी नयाँ बास खोज्न निस्किएका हौं, धामीले पनि त्यहाँ नबस्नु भने । ”

एसपी श्यामबाबु ओलीया सम्झन्छन् –“उनीहरू चुपचाप बसेका थिए। तर आँखा बोलिरहेका थिए – थाकेका थिए, हारेका थिएनन्।”

उनीहरूले भने – “हामी ज्यामी काम गर्ने मान्छे, यतै केही काम पाएर बस्छौं।”सोधपुछ गरिँदै छ। तर उनीहरू फेरि फर्कन तयार छैनन्।

उनीहरूको माइली छोरी सुजता काठमाडौंमा बस्छिन्। प्रहरीले उनलाई सम्पर्क गर्‍यो।तर उनी पनि अचम्ममा – “मलाई थाहा थिएन, घरैका सबैजना यसरी पोखरा पुग्नु भएको।”

हायु समुदायलाई सरकारले मासिक भत्ता दिन्छ – प्रतिव्यक्ति चार हजार।उनीहरूले तीन महिनाको अग्रिम भत्ता बुझिसकेका थिए – १ लाख ८० हजार।त्यसपछि उनीहरू चुपचाप घर छाडेर निस्किए।

रातको अँध्यारोमा एकान्त छाडेर पोखराको उज्यालोमा पुगे। के उनीहरूको यात्रा सही थियो? त्यो समयले बताउनेछ। तर एक कुरा पक्का छ – उनीहरू भागेका होइनन्, बाँच्न खोजेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖