काठमाडौँ । काठमाडौँको सामाखुसीबाट कार्यालय जान्छु भनेर हिँडेका ५० वर्षीय पुरुष सम्पर्कविहीन भएका छन् । धुम्बाराहीमा परिवारसँग बस्दै आएका शैलेस भट्टराई सम्पर्कविहीन भएका हुन् ।
भट्टराई विराटनगर नगरपालिका–१ पोखरीयाका स्थानीय हुन् । बुधवार बिहान बानेश्वर स्थित कार्यालय जान्छु भनेर हिँडेका भट्टराई सम्पर्क विहीन भएपछि परिवारले प्रहरीमा खोजतलासको निवेदन दिएका छन् ।
प्रहरी वृत्त महाराजगञ्जमा हुलिया सहित ‘खोजी गरिपाउँ’ भन्ने निवेदन दिएको भट्टराईकी पत्नी रश्मि शर्माले रातोपाटीलाई बताइन् । उनले भनिन्,‘बुधवार साँझ सम्पर्क भएको थियो, त्यसपछि लगातार फोन स्विच अफ छ ।’
भट्टराईका श्रीमती र एक छोरा छन् । अनुसन्धानको क्रममा भट्टराई चितवनको मुग्लिन सम्म पुगेको भेटिएको छ । चितवन प्रहरीसँगको समन्वयमा खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदिप चन्दले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँको खाेजीकार्य हुँदै छ ।’
