काठमाडौ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अबदेखि १० वर्षका लागि मान्य हुने भएको छ ।
सरकारले केही नेपाल ऐन संशोधन गर्न तयार पारेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को व्यवस्था परिवर्तन भएको हो । संशोधित ऐनअनुसार सवारी चालक अनुमतिपत्रको बहाल अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको छ ।
ऐनको दफा ५४ को उपदफा ३ मा स्पष्ट रूपमा यो व्यवस्था उल्लेख गरिएको छ । यसले गर्दा अब एकपटक जारी गरिएको लाइसेन्स १० वर्षसम्म मान्य हुनेछ ।
त्यस्तै, लाइसेन्स नवीकरण गर्दा पनि त्यसको मान्यता अवधि पहिलेको ५ वर्षबाट बढेर १० वर्ष हुने व्यवस्था गरिएको छ ।योसँगै चालकहरूलाई बारम्बार लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ ।
