पाँचथर । श्रीमतीको हत्या गरेको आरोपमा पाँचथरको फालेलुङ गाउँपालिका–७ आहालेका २७ वर्षीय महेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार महेन्द्रले बिहीबार राति फिदिम नगरपालिका–१ नाम्दुस्थित ससुराली घरमै २२ वर्षीया श्रीमती अनु राईको हत्या गरेका थिए । कोदालोको पासोले प्रहार गरेर महेन्द्रले पत्नी अनुको हत्या गरेको प्रहरीले जनाएको छ ।
कोदालो प्रहारबाट गम्भीर घाइते भएकी अनुलाई सुरुमा जिल्ला अस्पताल पाँचथर पुर्याइएको थियो । अवस्था जटिल देखिएपछि उनलाई झापाको बी एन्ड सी अस्पताल बिर्तामोड लगिएको थियो । तर, शुक्रबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि फरार रहेका महेन्द्रलाई प्रहरीले फिदिम नगरपालिका–६ गोलेगाउँबाट पक्राउ गरेको हो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
