मनाङ एयरको एक हेलिकप्टरले आज दिउँसो करिब ४ बजे बराहक्षेत्र मन्दिर परिसरमा रहेको खुला चौरमा आकस्मिक अवतरण गरेको छ। मौसम अचानक बिग्रिएपछि हेलिकप्टर सुरक्षित अवतरणका लागि बाध्य भएको हो।
स्थानिय परशुराम दुलालका अनुसार, हेलिकप्टर अवतरण हुनुअघि गुप्त बराह क्षेत्र माथि कालो बादल मडारिएको थियो र मुसलधारे वर्षा भइरहेको थियो। “हावा, पानी र बादलको कारण हेलिकप्टर यहाँ ओर्लिएको हो,” उनले बताए।
काठमाडौँबाट बिरामी लिन विराटनगरस्थित नोबल अस्पताल जाँदै गरेको सो हेलिकप्टर खराब मौसमका कारण बीचमै रोकिएको जनाइएको छ। हेलिकप्टर अवतरणपछि स्थानीयवासी केहीबेर चकित भए पनि कुनै जनधनको क्षति नभएको पुष्टि भएको छ।
बराहक्षेत्र मन्दिर क्षेत्रको चौर आकस्मिक अवस्थाका लागि उपयुक्त ल्यान्डिङ स्थल बन्न सक्ने सम्भावनाको पनि यो घटनाले संकेत दिएको छ।
