• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

यसरी ३४ सेकेन्डमै बगायो धराली गाउँ, ५० बढी बेपत्ता


  • धनकुटा खबर
  • .

भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली गाउँमा मंगलबार दिउँसो बादल फाट्दा आएको भीषण बाढी र पहिरोले ठूलो विनाश निम्त्याएको छ।

दिउँसो करिब १:४५ बजे खीर गंगा नदीमा आएको आकस्मिक बाढीले हेर्दाहेर्दै ३४ सेकेन्डमै सिंगो गाउँलाई बगरमा परिणत गरिदिएको छ।

यस त्रासदीमा परी हालसम्म ४ जनाको मृत्यु पुष्टि भएको छ भने ५० भन्दा बढी मानिस बेपत्ता भएका छन्। मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रशासनले आशंका गरेको छ। गंगोत्री धाम जाने प्रमुख मार्गमा पर्ने यो गाउँमा सयौँ घर, होटल र पसलहरू बाढीले बगाएको छ।

धरालीका साथै हर्षिल र सुक्की क्षेत्रमा पनि बादल फाटेको छ। हर्षिल क्षेत्रमा बाढीले सेनाको एक क्याम्पमा क्षति पुऱ्याउँदा ८ देखि १० जना सैनिक जवान बेपत्ता भएको खबर छ।

चारैतिर भागाभाग र चीत्कार मच्चिएको घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। जसमा मानिसहरू ज्यान बचाउन दौडिरहेको देखिन्छन्। बाढीले बगाएर ल्याएको गेग्रान र लेदोले धराली बजार क्षेत्र ३० फिटसम्म पुरिएको छ।

घटनालगत्तै भारतीय सेना, राष्ट्रिय तथा राज्य विपद् प्रतिकार्य बल र इन्डो-तिब्बती सीमा प्रहरीको टोली उद्धार कार्यमा खटिएको छ। हालसम्म २० जनाको सकुशल उद्धार गरिएको छ। यद्यपि, लगातारको वर्षा र प्रतिकूल मौसमका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको कमान्डेन्ट अर्पण यदुवंशीले जानकारी दिए।

प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग टेलिफोनमा कुरा गरी पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत त्रासदीप्रति दुःख व्यक्त गर्दै केन्द्र सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

मुख्यमन्त्री धामीले पनि आपत्कालीन नियन्त्रण कक्षमा बैठक गरी उद्धार र राहत कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।

गंगोत्री धामबाट केवल १८ किलोमिटर टाढा रहेको धराली गाउँ भागीरथी नदीको किनारमा अवस्थित एक सुन्दर पर्यटकीय तथा तीर्थस्थल थियो। चारधाम यात्राको प्रमुख पडाव भएकाले यहाँ तीर्थयात्री र पर्यटकका लागि धेरै होटल, रेस्टुरेन्ट र होमस्टेहरू थिए। यही कारणले गर्दा हताहती र बेपत्ता हुनेको संख्या ठूलो हुन सक्ने अनुमान गरिएको छ।

यस गाउँलाई माँ गंगाको माइती (मुखबा) को रूपमा पनि चिनिन्छ। प्रशासनले हाल क्षतिको पूर्ण विवरण संकलन गरिरहेको र बेपत्ताहरूको खोजी कार्यलाई युद्धस्तरमा अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖