• Monday 26th of October 2026

कुलिङ पिरियडमा भएको छेडखानीका मुख्य दोषी सभामुख हुन्, ‘तोरी लाहुरे’ समितिले लेख्न डरायो: रामनारायण बिडारी


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले निजामति सेवा विधेयकको कुलिङ पिरियडमा भएको छेडखानीमा मुख्य दोषी सभामुख देवराज घिमिरे रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले निजामति सेवा विधेयक अक्षर–अक्षर हेरेर, अनुसांगिक रुजु गरेर सभामुखले प्रमाणित गरेर राष्ट्रिय सभामा पठाएको हुनाले उनलाई पहिलो मुख्य दोषी बनाइनुपर्ने बताएका हुन् । नेता बिडारीले सभामुखपछि क्रमशः महासचिव, समितिका सभापति, समितिका सचिव र समितिका सदस्य र प्रतिनिधिसभाका सबै सदस्य दोषी रहेको उनको भनाइ छ ।

‘यसको मुख्य दोषी सभामुख हो, लेख्न डरायो समिति । तोरी लाहुरे समिति हो, त्यो त डराउँछ । त्यसको त हातखुट्टा काम्छ । यसको अक्षर–अक्षर हेरेर, अनुसांगिक रुजु गरेर सभामुखले प्रमाणित गरेर राष्ट्रिय सभामा पठाएको हो नि । सबैभन्दा दोषी एक नम्बरमा सभामुख । दुई नम्बरमा महासचिव, तीन नम्बरमा सभापति, चार नम्बरमा समितिको सचिव, पाँच नम्बरमा त्यो समितिका सदस्य, छ नम्बरमा प्रतिनिधिसभाका सबै सदस्यहरु,’ उनले भने ।

साथै, फरक प्रसंगमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताए । रास्वपाले अरुलाई चाहिँ सजाय नगरेर रवि लामिछानेलाई मात्रै किन सजाय गरेको ? भन्ने तर्क गरिरहेको उनको भनाइ छ । फौजदारी कसुर लागेकाको पक्षमा प्रतिवाद नगर्न उनले रास्वपाका सांसदहरुलाई सुझाव दिए । उनले सत्ताको र अपराधीलाई जोगाउने राजनीति भन्दा पनि विकल्पको राजनीति गर्न रास्वपाका नेताहरुलाई सुझाव दिए ।

‘राजनीतिक प्रतिशोध भएको जस्तो मलाई लाग्दैन । अरुलाई सजाय नगरेको हुनाले मलाईमात्रै किन गरेको भन्ने उनको तर्क होला । म रास्वपाका सांसदहरुलाई विनम्रताका साथ अनुरोध गर्छु । फौजदारी कसुरमा जनताको रकम खाएर मुद्दा लागेकालाई प्रतिवाद नगर्नुस् । आफ्नो पार्टी राम्रोसँग चलाउनुस् । रास्वपा साचिकै विकल्प हो भने विकल्पको राजनीति गर्नुस् । सत्ताको राजनीति, जनताको पैसा खाएकोलाई बचाउने राजनीति छोड्नुस् भन्ने मेरो आग्रह हो,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖