• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

हिरासतमा चक्रे : गुण्डा आफैँले छुट्ट्याइदिए, सुनाए चुनाव लड्ने योजना


  • धनकुटा खबर
  • .

काठमाडौँ । साम्बाला होटलबाट पक्राउ गरेर भद्रकालीमा ल्याउँदा गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) समूहका ४७ जना सँगै थिए । कसलाई मुद्दा लगाउने र कसलाई नलगाउने भन्ने निर्क्यौल गर्न प्रहरी अधिकृतहरू उनीहरूलाई ‘स्क्रिनिङ’ गर्दै थिए ।

प्रहरी अधिकृतहरूले सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) हेर्न थालेपछि चक्रेले अनुसन्धान अधिकृतहरूलाई रोक्दै भने, ‘केही हेर्नुपर्दैन, म भन्दिन्छु ।’

त्यसपछि चक्रेले आफ्ना समूहका सदस्यहरूको विवरण फरर भन्न थाले, ‘फलानो पटके, फलानो झगडालु र फलानाले पहिले पेस्तोल चलाएको ।’

चक्रेले भनेअनुसार विवरण जाँच गर्दा १९ जना यसअघि पनि पक्राउ परेका र गुण्डागर्दीमा संलग्न रहेको भेटिए । तिनै १९ जनाविरुद्ध प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

उनीहरू जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । हिरासतमा चक्रे, गणेश बहादुर बोगटी, नीराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जित बहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही छन् ।

साउन १४ मा चक्रेको जन्मदिन हो, तर उनले क्यालेन्डर नै बनाएर जन्मदिन मनाउँदै हिँडेका थिए । साम्बाला होटलमा साउन १५ राति उनले पहिले आफ्नो समूहमा काम गरेका तर अहिले व्यापार व्यवसायमा लागेकाहरूलाई निम्ता गरेका थिए । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘मलाई मात्रै ल्याएको भए हुन्थ्यो, यी त सबै आफ्नो व्यापार गरेर बस्नेहरू हुन् ।’

साम्बाला होटलपछि चक्रे समूहले न्यूरोड र पाटनमा जन्मदिन मनाउने कार्यक्रम तय गरेको थियो । प्रहरीसँग चक्रेले भने, ‘गुण्डाचाहिँ तपाईंहरूले त्यता भेट्नुहुन्थ्यो, अहिले आएका भाइहरू त गुण्डा होइनन् ।’

हिरासतमा चक्रेले आफ्ना प्रतिस्पर्धी गुण्डा नाइके दीपक मनाङेलाई सम्झिएका छन् । गण्डकी प्रदेश सभा सदस्य मनाङे २०८१ कात्तिकदेखि डिल्लीबजार कारागारमा छन् । चक्रेको हात छिनाएको घटनामा उनी जेल परेका हुन् ।

कात्तिक २० मा सर्वोच्च अदालतले मनाङेलाई ५ वर्ष कैद सजाय हुने उच्च अदालतको फैसला सदर गरेको थियो । आफैँलाई आक्रमण गरेर जेल परेका मनाङेबारे चक्रेले भनेका छन्, ‘म मनाङेजस्तो होइन ।’

मनाङे सांसद भइसकेको बारे चक्रेले भने, ‘म पनि चुनाव लड्दै छु । मनाङेले भन्दा धेरै भोट ल्याउँछु । ६० हजार भोट ल्याएर जित्छु ।’-रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖