काठमाडौं—प्रचण्डलाई मुर्रा भैसी दिएको भारतले केपि शर्मा ओलीलाई कुकुर दिने भएको छ । भदौ ३१ गते देखि हुन लागेको प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा नेपाललाई भारतले १५ बटा तालिम प्राप्त कुकुरहरु उपहार दिने भएको हो । भ्रमणको अवसर पारेर नेपालसँग निकै लामो समयदेखि अड्केर बसेको सुपुर्दगी सन्धिमा हस्ताक्षर हुने छ । भारत भ्रमणमा गएका गृह सचिव गोकर्णमणि दुवाडीमार्फत भारतले यस्तो प्रस्ताव गरेको हो । यसअघिको भारत भ्रमणमा तत्कालिन प्रधानमन्त्री प्रचण्डलाई भारतले मुर्रा भैसी उपहार दिएको थियो ।
भदौ ३१ गते देखि हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तयारीका लागि भारतीय विदेश सचिव विक्रम मिश्री यसै साता नेपाल आउने भएका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार मिश्रीले भ्रमणको क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत उच्च पदस्तहरुलाई भेट गर्नेछन् ।
भ्रमणको अवसर पारेर नेपालसँग निकै लामो समयदेखि अड्केर बसेको सुपुर्दगी सन्धिमा हस्ताक्षर गर्ने भारतको प्रस्ताव रहेको छ । नेपाल सरकारको तर्फबाट त्यसबारेमा अहिलेसम्म औपचारिक रुपमा कुनै जानकारी गराइएको छैन । नेपाल हुँदै तेस्रो मुलुकका नागरिक भारत छिर्न सक्ने र भारतमा अपराध गरेकाहरु नेपाल हुँदै तेस्रो देशमा भाग्ने गरिरहेको भन्दै भारतले सुपुर्दगी सन्धीलाई ओलीको भ्रमणको मुख्य एजेण्डाको रुपमा उठाउने तयारी गरिरहेको बताइएको छ ।
नेपालले नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँचको साथै सीमा सुरक्षालगायतका विषयहरुलाई गम्भिरतासाथ उठाउने तयारी गरेको छ । तर, विवादास्पद लिम्पियाधुरा, लिपुलेकलगायतका विषयमा भने दुवै पक्ष तैं चुप मै चुपको अवस्थामा रहने अर्थात कुनै चर्चा नगर्ने ‘मुडमा रहेको’ परराष्ट्र मन्त्रालय सम्वन्ध स्रोतको दावी छ । ‘अहिलेको समयमा त्यसबारेमा धेरै कुरा उठाउनु हुँदैन भन्ने मनस्थिति दुवै पक्षको देखिन्छ, बाँकी कुरा त भ्रमणकै बेला थाहा होला’ मन्त्रालयका एक सहसचिवले भने ।
