काठमाडौं– पूर्वराष्ट्रपति विद्या भण्डारीले भदौ २ गतेदेखि कोशी प्रदेशबाट देश दौडाह सुरु गर्ने भएकी छन् ।
कोशीका कार्यक्रमपछि उनले भदौ १४ मा मधेस प्रदेश जानेछिन् ।
एमालेले उनको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको बेला तल्लो तहका बैठकहरूमा सो निर्णय सच्याउन दबाब बढिरहेको छ ।
कोशी बागमतीलगायत प्रदेश बैठकमा धेरै नेताले सदस्यता नवीकरण नगर्ने निर्णयले कार्यकर्तामा आक्रोश पैदा गरेको र आगामी निर्वाचनमा असर पर्ने चेतावनी दिएका छन् ।
भोजपुर, मोरङ, सुनसरीका नेताहरूले मिसन ८४ मा गम्भीर असर पर्ने भन्दै सदस्यता बहाल गर्न माग गरे ।
केही सदस्यले भने पूर्वराष्ट्रपतिजस्तो व्यक्तिलाई सक्रिय राजनीतिमा ल्याउन नहुने धारणा राखे ।
प्रदेश नेताहरूले महासचिव शंकर पोखरेललाई भेटेर दबाब दिने प्रयास गरे पनि भेट सम्भव भएन ।
पोखरेलले केन्द्रीय कमिटीले निर्णय टुंग्याइसकेकाले विधान महाधिवेशनमा छलफल नहुने बताए ।
बागमती प्रदेशमा पनि नेताहरूले केन्द्रको निर्णयले आन्तरिक लोकतन्त्र कमजोर हुने, कार्यकर्तामा असन्तोष बढाउने र पार्टी विभाजनतर्फ धकेल्ने चेतावनी दिएका छन् ।
