• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

घुम्न जाऊ भन्दै फकाएर गोंगबु बसपार्कको होटलमा लगेर हत्या


  • धनकुटा खबर
  • .

बिहानको ८ बजेतिर ललिता विकले आफ्नो एक वर्षकी छोरीलाई काखबाट झिकेर आमाबुबाको जिम्मा दिइन्। असनको गार्मेन्टमा ड्युटी छ, हतारमा निस्कनुपर्‍यो। हरेक दिनजस्तै नियमित देखिने त्यो बिहानी, वास्तवमा उनको अन्तिम यात्रा सुरु भएको क्षण थियो भन्ने कुरा कसैलाई थाहा थिएन।

दिउँसो करिब २ बजे, उनले काम सकेर बाहिर निस्किइन्। त्यतिबेलासम्म उनको श्रीमान् सन्तोष सेन्चुरी बारम्बार फोन गरिरहेका थिए। सन्तोषले ललितालाई भने—
“आज नजिकै कतै घुम्न जाऊँ न…”

ललिता थाकेको स्वरमै राजी भइन्। तर त्यो ‘घुम्ने’ प्रस्ताव जीवन र मृत्युबीचको अन्तिम मोड बन्न पुग्यो। सन्तोष ट्याक्सी चालक हुन्। उनले आफ्नी पत्नीलाई गोंगबु बसपार्कसम्म लगे। त्यहाँ कञ्चन कोशी होटल एन्ड लज को २०१ नम्बर कोठा बुक गरियो। होटलका कर्मचारीले त्यति मात्र देखे—दुवै जना भित्र छिरे, मुस्कुराउँदै। तर त्यो मुस्कान कोठाभित्र पस्दा हरायो।

भित्र पुगेपछि विवाद चर्कियो। ललिताले प्रतिरोध गरिन्, तर सन्तोषको रिस काबुमा रहेन। प्रहरी अनुसन्धान भन्छ— उनले ललितामाथि कुटपिट गरे र अन्ततः मुख थुनेर हत्या गरे।

हत्या पछि सन्तोषले शवलाई बेडभित्र लुकाए। त्यसपछि उनले मोबाइल बन्द गरे र फरार भए। तर यहीबीच, उनी प्रहरी कार्यालय धाउँदै “मेरो श्रीमती हराइन्” भन्दै नाटक खेलिरहेका थिए। आफैं खोजतलासमा सहभागी भएर आफन्तलाई ढाडस दिइरहेका थिए।

यो अभिनय पाँच दिनसम्म चल्यो। यता परिवार आर्तनाद गर्दै प्रहरीलाई ‘शंकाको आधारमा श्रीमानलाई पक्राउ गर्नुस्’ भन्दथे। तर प्रहरी मौन रह्यो।

शुक्रबार बेलुकी होटलका कर्मचारीले कोठाबाट गन्ध आउँछ भन्दै प्रहरीलाई खबर गरे। प्रहरी पुगे, बेड खोलियो—अनि ललिताको शव भेटियो। त्यो शव कुहिन थालेको थियो, तर अझै चिनिने जस्तो थियो। एक वर्षे छोरीकी आमालाई बेडभित्र लुकाइएको देख्दा सबैको आँखामा आँसु टलपलायो।

सन्तोषले पत्नीलाई ‘घुम्न जाऊ’ भन्दै फकाए, तर फर्काउँदा उनले जिन्दगी नै फर्काएनन्। उनले ललितालाई जीवनभर साथ दिने शपथ खाएका थिए, तर अन्ततः उनले मृत्युको अँध्यारोमा धकेले।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖