• Monday 26th of October 2026

अनेरास्ववियु गण्डकीमा चर्किँदै विवादः केन्द्रीय अध्यक्ष सहभागी बैठक वहिष्कार, समानान्तरतर्फ अग्रसर


  • धनकुटा खबर
  • .

पोखरा । नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियु गण्डकी प्रदेश कमिटीको विवाद झनै चर्किएको छ । विवादका बीच आज दुई समूहले फरकफरक बैठक राखेर समानान्तर गतिविधि गरे ।

प्रदेश संयोजक सुसन घिमिरेको अध्यक्षतामा शनिबार पोखरामा विस्तारित बैठक बस्यो । केन्द्रीय कमिटी अध्यक्ष डा. सुजन कडरिया प्रमुख अतिथि रहेको उक्त बैठकमा सहसंयोजक सुरज सापकोटासहितको टोली सहभागी भएन । केही दिनअघि सुरजले बागलुङमा आफ्नो अध्यक्षतामा विस्तारित बैठक राखेका थिए ।

उनै सुरजलाई प्रदेश अध्यक्ष प्रवीण श्रेष्ठले संयोजकको जिम्मेवारी दिएका थिए । तर, केन्द्रले निर्णय उल्टाउँदै उपाध्यक्ष सुसनलाई संयोजक र अर्का उपाध्यक्ष विश्वदर्शन पराजुली र सचिव सुरजलाई सहसंयोजक बनाएको थियो । त्यसपछि दुवै पक्षले समानान्तर गतिविधि गर्दै एकअर्काको बैठक वहिष्कार गर्दै आएका छन् ।

शनिबार पोखरामा भएको बैठक वहिष्कार गरेका सुरजले कोरम नपुगेको दाबी गरे ।

‘बैठकमा कोरम पुगेको देखिँदैन । कोरम नपुगेको बैठकमा केन्द्रीय अध्यक्ष आउनुभएछ । ७/८ वटा जिल्ला अध्यक्ष उपस्थित हुनुहुन्न । प्रदेशबाट केन्द्रीय सदस्य भएका १० जनामध्ये २ जनामात्रै आउनुभएको छ । कसरी कोरम पुग्छ ?’, उनको दाबी थियो ।

केन्द्रीय कमिटीको सकुर्लर चित्त नबुझेका कारण आफू बैठकमा नगएको उनको भनाइ छ ।

‘केन्द्रीय समितिको सर्कुलरमा असहमत छु । केन्द्रीय कमिटि र पार्टीबाट समन्वयकारी भूमिका खेलेका छैनन् । असन्तुष्ट भएकाले बैठकमा सहभागी हुने कुरै भएन,’ उनले भने ।

यस्ता गतिविधिले दुवै पक्षलाई हानी हुने भन्दै समाधानको बाटो खोज्न उनले सुझाए ।

संयोजक सुसनले भने विस्तारित बैठकमा कोरमको आवश्यक नपर्ने उल्लेख गरे ।

‘विस्तारित बैठक भएकाले कोरम पुग्नै पर्छ भन्ने छैन । कुनै सांगठानिक निर्णय गर्न नभई संगठनलाई चलायमान बनाउनका लागि बैठक राखेको हौं,’ उनले भने ।

समस्या समाधान गर्न पार्टीको प्रदेश कमिटीले भूमिका नखेलेको सुसनको आरोप छ । प्रदेश कमिटीका केही नेता केन्द्रको सकुर्लर मान्ने पक्षमा नभएको उनको दाबी छ ।

‘विस्तारित बैठकभन्दा उहाँहरु कोरमतिर लाग्नुभो । विस्तारित बैठकमा कोरम भन्ने हुन्छ ? निर्णय गर्ने विषयमा कोरम होला । आएर बोल्ने कुरामा त कोरम पर्दैन होला नि,’ उनले भने, ‘पार्टी कै नेताहरू मिलाउने भन्दा पनि उनीहरुको पक्षमा लागेर विवाद बढाउन लागे ।’

संयोजक घिमिरेले समस्या समाधानका लागि आफू तयार रहेको बताउँछन् ।

‘संवाद गर्न तयार नै हो । तर, पार्टीले समन्वयकारी भूमिका खेल्नुपर्‍यो । एक पक्षमा लागेर केन्द्रको सकुर्लर मान्दैनौं भन्न भएन,’ उनले भने ।

के हो खास विवादको कारण ?

यी दुई पक्षको विवाद गण्डकी एमालेका दुई नेता पृथ्वीसुब्बा गुरुङ तथा खगराज अधिकारी र अनेरास्ववियुको महाधिवेशनसँग जोडिन्छ । पार्टीदेखि भ्रातृ संगठनमा यहाँ दुईजनाको नाममा गुट देखिन्छन् ।

प्रवीण र सुरज पृथ्वीसुब्बा तथा सुसन र विश्वदर्शन खगराजनिकट मानिन्छन् । दुई उपाध्यक्ष फरक गुट भएका कारण अध्यक्ष प्रवीणले सुरजलाई साउन ४ गते संयोजकको जिम्मेवारी दिएका थिए । जुन अहिलेको विवादको कारक हो ।

एमाले गण्डकीका पदाधिकारी पृथ्वीसुब्बा निकट मानिन्छन् । गुट एउटै भएकाले पार्टीका पदाधिकारीले सुरजलाई सहयोग गरेको आरोप खगराज पक्षकाले लगाउँदै आएको छ ।

२०८० को पुसमा भएको अनेरास्ववियु गण्डकीको अधिवेशनमा पृथ्वीसुब्बा गुटबाट अध्यक्ष प्रवीण श्रेष्ठ र सचिव सुरज सापकोटा तथा खगराज गुटबाट दुई उपाध्यक्ष सुसन र विश्वदर्शन सर्वसम्मत भएका थिए ।

यस्तै गत जेठमा भएको अनेरास्ववियुको २४औं महाधिवेशनको तुष पनि यो विवादको कारक हो । उक्त महाधिवेशनमा प्रकाश पौडेललाई ७ मतले हराउँदै डा. कडरिया अध्यक्ष निर्वाचित भए । म्याग्दीका प्रकाशलाई हराउन गण्डकीका खगराज ‘गुट’ लागेको आरोप प्रकाश पक्षले लगाउँदै आएका छन् ।

प्रकाश पक्षले हारको इगो प्रदेश कमिटीमा देखाउँदा विवाद बल्झिएको खगराज पक्षको दाबी छ । यीलगायतका कारण अहिले दुई पक्ष एकअर्कालाई स्वीकार नगरी समानान्तर गतिविधि अघि सार्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖