वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगञ्ज महानगरपालिकाका मेयरसँगको ‘टसल’का कारण आफूले सरुवा गराएको बताएका छन् । गृह मन्त्रालयले सरुवा गरेपछि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा सिडिओ अर्यालले यस्तो जिकिर गरेका हुन् ।
उनका अनुसार पछिल्लो समय महानगरका मेयर राजेशमान सिंहले हरेक काममा दोहोरो भूमिका निर्वाह गरिरहेका थिए । उनले भने, ‘महानगरको मेयर र जिल्ला प्रशासनबिच एउटा सहमति हुन्थ्यो, तर पछि महानगरले आफ्नो स्वार्थ अनुसार अर्को निर्णय गर्थ्यो । जस कारण वीरगन्जको सामाजिक सद्भाव नै बिग्रने अवस्थामा पुग्थ्यो । यसका कारण काम गर्न एकदम कठिनाइ हुन थालेको थियो ।’
महानगरमा मेयरसँग काम गर्न सक्ने अवस्था नभएपछि समयावधि नपुग्दै आफ्नो सरुवा गराएको अर्यालको आरोप छ । यसका बाबजुद आफ्नो १० महिने कार्यकालमा नागरिकको सेवामा कुनै कसर बाँकी नराखेको उनको दाबी छ ।
जिल्ला प्रशासन कार्यालयमा सेवामा सहजताका लागि स्थानीय भाषामा सूचनादेखि लिएर अन्य हेल्प डेस्कहरू स्थापना गरी सेवा प्रवाह गरेको उनी बताउँछन् । ‘भारतबाट नेपाल प्रवेश गर्ने भारतीयहरूलाई जाँचको बहानामा विभिन्न ठाउँमा हुने झमेलाबाट रोक्न आफ्नो योजना थियो, एकीकृत सुरक्षा प्रणाली स्थापना गरेर त्यो पूरा गर्न सकिनँ,’ उनले भने ।
उनका अनुसार वीरगन्ज भन्सारको कार्यालयका कारण त्यो सिस्टम लागु गर्न नसकिएको उनको दाबी छ । गतको कार्तिकको दोस्रो साता अर्यालको पर्सा जिल्लामा सरुवा भएर आएका थिए ।
