• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सुटकेशभित्र भेटिएको महिलाको शवको खुल्यो पहिचान,हत्या भएको आशंका


  • धनकुटा खबर
  • .

रौतहट सदरमुकाममा आज बिहान सुटकेशभित्र फेला परेको युवतीको शवको सनाखत भएको छ।

उक्त शव रौटहटको माधव नारायण नगरपालिका- २ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए।

गौर नगरपालिका- ९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै गएराति नै स्थानीयले शंकास्पद अवस्थामा ठूलो सुटकेश देखेका थिए। त्यतिबेलै स्थानीयले प्रहरीलाई खबर गरेका भए पनि प्रहरीले आज बिहान मात्रै सुटकेश खोलेर हेरेको हो।

‘रातभर हामीले घटनास्थल सुरक्षित राख्यौँ। आइतबार बिहान मेरै कमाण्डमा खटिएको प्रहरीले खोलेर हेर्दा त्यसभित्र शव रहेछ,’ डीएसपी कार्कीले भने, ‘उनका माइती पक्षका मान्छेलाई हामीले जिल्ला प्रहरी कार्यालयमा बोलाएका छौँ। घटनाको थप अनुसन्धान हुँदैछ।’

घाँटी कसेर युवतीको हत्यापछि शव सुटकेशमा राखिएको अनुमान प्रहरीले गरेको छ। ‘तर, हत्या कसले र किन गर्‍याे खुलिसकेको छैन,’ डीएसपी कार्कीले भने। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।

रुवीको विवाह भारतको मजफरपुरमा भएको स्थानीयले बताएका छन्। उनी अहिले माइती घरमै बस्दै आएकी थिइन्। रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टीमा उनको माइती घर छ। पतिसँगको उनको सम्बन्धको विषयमा हालसम्म केही खुलेको छैन।

स्कुल नजिकै शंकास्पद सुटकेश फेला परेको भनेर शनिबार राति नौ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖