• Monday 26th of October 2026

रास्वपाले डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेपछि पार्टीका नेता गणेश कार्कीले यसो भने…


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसै सन्दर्भमा पार्टीका नेता गणेश कार्कीले आफ्नो फेसबुक स्टाटस मार्फत टिप्पणी गरेका छन् ।

कार्कीले डा. थापाको व्यक्तिगत जीवनसँग सम्बन्धित केही हल्लाबारे स्पष्ट पारेका छन्। उनका अनुसार, डा. लेखजंग थापाको पहिलेको श्रीमतीसँग कानूनी रूपमा सम्बन्ध विच्छेद भइसकेको छ, तर व्यक्तिगत र पारिवारिक सम्बन्ध अहिले पनि सुमधुर रहेको जानकारी प्राप्त भएको छ।

“एउटा सम्बन्ध बिग्रिएपछि वा अलग्गै हुने अवस्था आएपछि पनि मानिसले शान्तिपूर्ण र सुमधुर जीवन निर्वाह गर्न चाहन्छन्,” कार्कीले फेसबुकमा लेखेका छन्।

उनी आफ्नो स्टाटसमा पार्टीको उम्मेदवार छनोट प्रक्रिया र लोकतान्त्रिक मूल्यमा पनि प्रकाश पारेका छन्। उनले पहिलेको समानुपातिक निर्वाचन प्रक्रियालाई समेट्दै भनेका छन्, पार्टीको समानुपातिक सांसद छनोट १२ क्लस्टरमा भएको थियो, तर पछि सांसद छान्दा ६ क्लस्टर बनाइयो र त्यस क्रममा उनी आफू अलग्गै रहन बाध्य भए।

यसैले यसपटकको उम्मेदवार छनोट प्रक्रियामा उनले चासोपूर्वक निगरानी गरेका थिए र अहिले पनि कुनै ठूलो त्रुटि नभएको धारणा राखेका छन्। यद्यपि केही कमजोरी हुन सक्छ, जसको छानबिन र निष्कर्ष आवश्यक रहेको उनले बताए।

कार्कीले आफ्नो स्टाटसमा थप लेखेका छन् , लोकतन्त्र भनिए पनि उम्मेदवारहरू ‘गोजीबाट’ निकाल्ने परिपाटीले व्यवस्थामा केही समूह हाबी भएको देखिन्छ। त्यसैले नयाँ प्रणाली निर्माण गर्दा केही त्रुटि हुनु सामान्य रहेको उनी भन्छन्। “त्रुटि नियतको नभएर ‘नियती’को होस् भन्ने कामना गरौं,” उनले भनेका छन्।

उम्मेदवार चयन प्रक्रियालाई सकेसम्म लोकतान्त्रिक र प्रतिष्पर्धात्मक बनाउन पार्टीले परिश्रम गरिरहेको छ र यसले न केवल रास्वपालाई, तर नेपालको राजनीतिमा पनि सकारात्मक प्रभाव पार्ने कार्कीको विश्वास छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖